काठमाडौं । कोरोना भारइस (कोभिड–१९) संक्रमणका रोकथाम र नियन्त्रणका लागि भन्दै अघिल्लो बर्षको चैतदेखि सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाली धेरै उद्योगी व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका थिए । कतिपय उद्योगी तथा व्यवसायीहरु त पलायन नै भए । अघिल्लो वर्ष चैतदेखि लागु गरिएको लकडाउन भदौ महिनामा मात्रै खुकुलोे भएको थियो ।
लकडाउन खुकुलो भएपछि पनि पलायन नभई बजारमा टिकिरहेका उद्योगी व्यवसायीहरु पनि सरकारी व्यवहार र उद्योग व्यवसायप्रतिको सरकारी पहलप्रति सन्तुष्ट थिएनन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको पुर्नकर्जा र सहुलियत कर्जालगायतका सुविधाहरु कार्यान्वयन हुन नसकेको अहिले पनि उद्योगी–व्यवसायीको गुनासो रहँदै आएको छ ।
यद्यपि कोरोना संक्रमण कम हुँदै जाँदा र सबै क्षेत्र खुला भएपछि विस्तारै गति लिन थालेको उद्योग–व्यवसाय क्षेत्रमा पुनः नेपालमा दोस्रो भेरियन्टको कोरोना महामारी फैलिएसँगै थप गम्भीर समस्या उत्पन्न भएको छ । अहिलेको संक्रमणले पोहोर सालको तुलनामा भयावह स्थिति पैदा भएको उद्योगी व्यवसायीहरु बताउँछन् । सरकारले निषेधाज्ञा जारी भएपनि उद्योग सञ्चालनका लागि अनुमति दिदैं कच्चापदार्थ आयात पनि सहज बनाउने भनेको छ । सोअनुरुप धेरै उद्योगहरु अहिले सञ्चालनमा पनि आएका छन् । तर, बजारमा संक्रमणको बढ्दो दर, व्ययवसाय बन्द र बजारमा चहलपहल रोकिदा उत्पादित वस्तुको विक्रीको धेरै मात्रमा घटेको उद्योगी बताउँछन् । अर्कोतर्फ संक्रमणको भयावह स्थितिमा पनि मजदूर र कर्मचारीको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने अवस्था छ । यसले गर्दा सरकारले अनुमति दिएपनि धेरै उद्योग व्यवसाय अहिले बन्द अवस्थामा छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल अहिले उद्योगी–व्यवसयाीले उद्योग–व्यवसाय बन्द हुँदाको तनाव एक ठाउँमा राखेर मानव स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भएकाले सबैको ध्यान त्यतातर्फ भएको बताउँछन् । हाल प्रायः सबै उद्योगी–व्यवसायी कोरोनाबाट स उत्पन्न मानवीय संकट हल गर्न सरकारसँग हातेमालो गरेर अघि बढिरहेको बताउँछन् । ‘अहिले सबै उद्योगी–व्यवसायी कोरोना संकटबाट उत्पन्न भयावह अवस्थामा मानवीय सहयोगमा जुटनुभएको छ । सरकारलाई आर्थिक सहयोगसाथै आवश्यक पूर्वाधार सहयोगमा धयान केन्द्रित भएको छ । आफ्नो–आफ्नो स्थानबाट मानव स्वास्थ्य र सुरक्षाका लागि सहयोग गरेको अवस्था छ’, मल्ल भन्छन ।
तर, यससँगै उद्योग–व्यापार–व्यवसायलाई पनि सँगै लैजानका लागि उपयुक्त आधारहरु तय गरेर अनुशासित तवरले उद्योग–व्यवसाय सञ्चालन गर्नेपर्ने मल्ल बताउँछन् । अन्यथा नेपालको उद्योग–व्यवसाय नै संकटमा पर्ने उनको भनाई छ । मल्ल अहिलेको संकटले उद्योगी–व्यवसायीसँगै प्रत्यक्ष–अप्रत्यक्ष काम गर्ने लाखौं मजदूर र कर्मचारीको जीवनयापनको पनि प्रशन प्रमुख रहेको बताउँछन् । ‘यसैले उद्योग–व्यवसाय सञचालन नगरी सुखै छन्’, मल्ल भन्छन ।
हाल नेपाल चेम्बर अफ कमर्सले पनि कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउन अक्सिजन प्लान्ट स्थापना गर्ने, सिलिण्डर आयात गर्ने, आईसोलेशन, क्वारेन्टीनको निर्माण गर्नेलगायतका कार्यहरु गर्नेलगायतका कार्यहरु अघि बढाएको उनले बताए । तर, निषेधाज्ञाले पिरोलिएका उद्योगी व्यवसायीहरुलाई कर कार्यालयदेखि बैंकहरुले केहि सहुलियत दिनेमा उनी विश्वस्त छन् । कर तिर्ने समय बढाउन आन्तरिक राजस्व विभाग सकारात्मक देखिएको र यता राष्ट्र बैंक पनि सकारात्मक देखिएको उनले बताए । ‘यस्तो अवस्थामा कर कार्यालयहरुले भने कर तिर्ने ताकेता गर्नुचाहिं अचम्मलाग्दो विषय हो’, उनी भन्छन ।
हाल उद्योगधन्दाहरु पूर्णरुपमा बन्द भएसँगै श्रमिकहरु बेरोजगार अवस्थामा बसेका र स्वयं उद्योगी व्यवसायीहरुसमेत संकटमा परेको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अन्जन श्रेस्ठ बताउँछन् । उनि अघिल्लो पल्टको महामारीमा सचेत नभएका कारण यसपटक स्वास्थ्य संकट बढेको अनुमान गर्छन् । ‘अघिल्लो पटक सचेत हुनुपर्छ त भन्यौं तर त्यो व्यवहारमा उतारेनौं,’ उनले भने, ‘जसका कारण हाल संक्रमितसँगै कोरोनाका कारण मृतकको संख्यामा पनि उच्च वृद्धि भईरहेको छ ।’
उनी यस्तो अवस्थामा उद्योग, व्यवसायमा ध्यान दिनुभन्दा पनि मानव स्वास्थ्यमा जोड दिनुपर्ने बताउँछन् । उद्योगधन्दा त ठप्प छ नै तर, ज्यानै नरहे व्यापार व्यवसायको अर्थ नहुन उनको बुझाई छ । उनी अर्थतन्त्रको रिकभरिको बारेमा बहस गर्ने अहिले समय नभएको बताउँछन् । यस्तो महामारीको अवस्थामा आन्तरिक राजस्व विभागले भने कर अनलाईनमार्फतै भएपनि तिर्न ताकेता गरेकोर यसका कारण व्यवसायीहरु आजित भएको उनले बताए । वस्तुहरु बजारमा पठाएपछि त्यसको मूल्य असुल हुन नसकेको अवस्थामा पनि आन्तरिक राजस्व विभागले कर तिर भन्नु व्यवसायीका विरुद्ध भएको उनको भनाई छ । ‘हाल उद्योगधन्दाहरु सबै बन्द भएपछि आम्दानी हुन सकेको छ्र्रैन र आम्दानी नभएपछि कर कहाँबाट तिर्नु ?’उनले प्रश्न गरे ।
नेपाल उद्योग परिसंघ नेपालका अध्यक्ष सतिश मोर भने यो बर्ष आएको नयाँ भेरियन्टको कोरोनाले उद्योग व्यवसायमा भयावह स्थिति पैदा भएको बताउँछन् । गतबर्ष बरु अक्सिजन, भेन्टिलेटरलगायतको अभाव थिएन जसका कारण त्रास पनि कम थियो । तर, यो बर्षको महामारीमा मेडिकल उपकरणहरुको कमी हुँदा त्रास बढेका कारण यसको सोझै असर उद्योग, व्यवसायमा परेको उनको भनाई छ । उनी अब उद्योगी व्यवसायीहरुले पनि जतिसक्दो चाँडो विभिन्न अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटरलगायतको बन्दोबस्त गर्न जोड दिनुपर्ने बताउँछन् ।
गत बर्षजस्तै सरकारले यो बर्षको महामारीमा पनि उद्योगी व्यवासायीहरुलाई विभिन्न तवरले सहयोग र सहजीकरणको कार्य गरिदिनेमा उनी विश्वस्त छन् । ‘हामीले गत बर्षको लकडाउनमा उद्योग व्यवासाय बन्द भएपछिको असर न्यूनीकरणका लागि सरकारबाट धेरै राहतहरु पाएका थियौं,’ उनले भने, ‘यो बर्षको लकडाउनमा पनि त्योभन्दा झन ठूलो असर परेको छ, यो असर न्यूनीकरणमा सरकारले सहयोग गर्नेमा हामी विश्वस्त छौं, नेपाल राष्ट्र बैंकले त बैंकहरुलाई ऋणीको सम्पत्ती लिलामी नगर्न निर्देशनसमेत दिईसकेको छ ।’
यता कपडा उद्योगीहरुलाई भने कोरोना महामारीसँगै अर्काे दुखः थपिएको छ । विभिन्न देशहरुबाट अवैधानिक रुपमा कपडा आयात हुने गरेसँगै मर्कामा परेका कपडा उद्योगीहरु कोरोना महामारीका कारण झन मर्कामा परेका हुन् । कोरोना महमारीले न कपडा उत्पादन गर्न दिएको छ न उत्पादित कपडाहरु विक्री वितरण गर्न दिएको छ । जसका कारण पछिल्लो समय कपडा उद्योगीहरु धराशायी बनेको कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर उद्योग चलाउने भनेपनि श्रमिकहरु त्रासका कारण पनि काममा उपस्थित हुन नसकेपछि उत्पादन शून्य छ । यस्तो अवस्थामा न उत्पादन गर्न सकिन्छ न बेचेको वस्तुको उधारो नै उठाउन सकिएको अवस्था रहेको प्रधान बताउँछन् । ‘तर, आन्तरिक राजस्व विभागले कर तिर्न ताकेता गरिरहेको उनले बताए । उनले विभागले यस्तो बेलामा उधारो उठ्दैन र आम्दानी पनि हुँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि बुझपचाएको जस्तो गरेको छ । तर बैंकहरुले भने यो बर्ष केही बुझेको जस्तो देखिएको छ’ उनले बताए । ‘गत बर्षको लकडाउनमा सरकार र नेपाल राष्ट्र बैंकको सहयोगले उद्योगी व्यवसायीहरुले राम्रै सहुलियत पाएका थिए,’ उनले भने, ‘यसपाली पनि यो कार्यले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं, बैंकहरुले दुखः दिँदैनन् ।’
नेपाल राष्ट्« बैंकले चालु आवको मौद्रिक नीतिमार्फत नै उद्योगी व्यवसायीहरुलाई वर्गीकरण गरेर सहुलियत कर्जा, पुनर्कर्जा, कर्जाको पुनर्तालिकिकरणलगायतको सुविधा दिएको छ । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढेसँगै अत्यावश्यक मानिएको अक्सिजन अभावले पनि भयावह स्थ्तिि पैदा गरेको छ । जसका कारण संक्रमितको संख्यामा पनि लगातार वृद्धि भईरहेको देख्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा ठूलो संकट आईपर्दा अर्थतन्त्रमा पनि धक्का लाग्ने अर्थविद्हरु बताउँछन् ।