Logo

राष्ट्र बैंकले भन्यो-चार प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन छ

राष्ट्र बैंकले भन्यो-चार प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन छ



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु अर्थिक बर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न नसकिने प्रक्षेपण गरेको छ । चालु आर्थिक बर्षको ९ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख भएपनि कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतिपुर्ण रहेको राष्ट्र बैंकले जानकारी दिएको हो ।

गत चैतमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ४ दशमलव ४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको थियो । जसमा कोरोना महामारीको पहिलो लहर अन्त्य भएसँगै अर्थतन्त्रमा सूचकहरु उकालो लागिरहेको देखिएको थियो । तर पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्टका कारण यो चुनौतीपुर्ण रहेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको चैतसम्म विप्रेषण आप्रवाह संतोषजनक रहेतापनि विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेकोले विप्रेषण आप्रवाहको वृद्धिसमेत नहुने प्रक्षेपण गरेको छ । पछिल्ला महिनाहरुमा आयातको विस्तार हुन थालेकोले शोधनान्तर बचतको मात्रा पनि घट्दै गएको छ । तर, पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकोले स्वास्थ्यजन्य वस्तु बाहेकको आयात प्रभावित हुने देखिन्छ । फलस्वरुप, शोधनान्तर बचत केही कमी हुँदै जान सक्ने सम्भावना रहेपनि चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान राष्ट्र बैंकले गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहेतापनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको, भारतको मूल्य वृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपँैया अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति छ । तापनि, आन्तरिक माग शिथिल रहेको र आपूर्ति व्यवस्थापन सहज नै रहेकोले चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमा भित्र रहने देखिन्छ ।

यस्तै कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैकिङ क्षेत्रले व्यवस्थापन गर्न सकेको थियो । तर, कोभिड–१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैकिङ क्षेत्रपनि प्रभावित हुने सम्भावना रहेको छ । पछिल्ला महिनाहरुमा बैकिङ्ग क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुनः शिथिलतातर्फ जाने केन्द्रीय बैंकको प्रक्षेपण छ ।

यद्यपि, चालु आर्थिक वर्षको बाँकी अवधिमा मौद्रिक नीतिको शुरुको लक्ष्यभन्दा बढी नै कर्जा विस्तार हुने देखिन्छ । कोभिड–१९ को पहिलो लहर शुरु भएदेखि कर्जाको माग घटेको तर लचिलो मौद्रिक नीतिका कारण तरलता प्रवाह बढेको हुनाले निक्षेप तथा कर्जाको व्याजदरहरु घट्दै गएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कर्जाको व्याजदरमा आएको कमीले गर्दा पछिल्ला महिनाहरुमा कर्जाको माग बढाउन सहयोग पुगेको छ ।

कर्जा माग उल्लेख्य ढंगले बढ्दा २०७७ चैत महिनापछि बैकिङ्ग क्षेत्रको तरलतामा कमी आइ अल्पकालीन व्याजदरहरु केही बढ्न गएका छन् । यसले गर्दा आगामी दिनमा कर्जा तथा निक्षेपको व्याजदर बढ्ने संकेत देखिएतापनि हालै गरिएको बन्दाबन्दीले नयाँ कर्जाका मागमा कमी आइ बैकिङ्ग क्षेत्रको तरलता र व्याजदरहरु सामान्य रहने समेत राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL