काठमाडौं । भारताले लगाएको नाकाबन्दीका कारण रक्सौल नाकामा अड्किएर रहेका ग्याँसका बुलेटहरु ‘लिक’ हुन थालेको छ । उक्त .बुलेटहरु साझ पौने ७ बजेदेखि ग्याँसका बुलेट लिक हुन शुरु गरको नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘हालसम्म ३ वटा बुलेट लिक भएको छ,’ उनले भने, ‘यदि त्यसलाई तत्काल सुरक्षा संयन्त्र अपनाइएन भने भयावह हुने अवस्था छ ।’
घिमिरेका अनुसार खुला र घाम भएको स्थानमा लामो समयदेखि रहदा बढी चाप पर्न गई लिक भएको हो । यदि तत्काल पानीको पोहोरा दिएर लिक भएका ठाउँमा नटाले पड्किने सम्भावना उच्च रहेको छ ।
नेपाल ल्याउन लागिएको एसएलआर ट्रान्सपोट कम्पनीको बुलेट नम्बर एचआर ६९ डी ६८२०, अक्षय रोडलाइट कम्पनीको बुलेट नम्बर एचआर ५५ आर ५०७३ र आइपी रोड ट्रान्सपोटको आरजेड १४ जी ३३१७ नम्बरको बुलेट लिक हुन शुरु गरेको हो । नाकाबन्दीका कारण उक्त बुलेटहरु झण्डै साढे २ महिनादेखि उक्त स्थानमा रहेका छन् ।
लिक भएका ग्याँस बुलेटलाई दमकलबाट पानीको फोहोर दियर चिस्याउनुको विकल्प नभएको घिमिरे बताउँछन् । ‘रक्सौल नाकामा ग्याँसका मात्र २ सय भन्दा बढी बुलेट छन् भने पेट्रोलियमको पनि सयौ ट्याङ्कर रहेका छन् । अन्य मालवाहकको पनि हजारौं ट्याङ्क रहेकाले लिक भएका बुलेटलाई उक्त स्थानबाट तत्काल अन्त लैजान सकिने अवस्था समेत नभएको उनले जानकारी दिए । ‘बुलेटलाई पड्कनबाट जोगाउनका लागि पानीको फोहोरा दिएर चिस्याएर चिनी, चुना र सावुनको लेप लगाएर टाल्नु पर्दछ,’ उनले भने, ‘यदि तत्काल त्यसो नगरे बुलेट नै पड्किने छ ।’
ग्याँसका बुलेट पड्किएमा नेपालको पर्सा जिल्लाको आधा भाग र भारतको आधा विहार नै सखाप हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।