Logo

निषेधाज्ञा उल्लंघन गर्दा कोरोना संक्रमण फैलदो, आवतजावतमा ५९ प्रतिशतमात्रै कमी आउँदा संक्रमण नघटेको सरकारको निष्कर्ष

निषेधाज्ञा उल्लंघन गर्दा कोरोना संक्रमण फैलदो, आवतजावतमा ५९ प्रतिशतमात्रै कमी आउँदा संक्रमण नघटेको सरकारको निष्कर्ष



काठमाडौं । कोरोना संक्रमणको दोश्रो लहरसँगै आएको नयाँ भेरियन्टका कारण नेपालमा अहिले कोरोनाका कारण निकै जटिल अवस्था श्रृजना भएको छ ।

सोमबारमात्रै कोरोनाबाट २१४ नेपालीले ज्यान गयो । कोरोना नियन्त्रणका लागि भन्दै सरकारले बैशाख १६मा काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो भने त्ययता देशका ७४ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । तर, पनि दैनिक संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छैन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकेको बताए ।

अधिकारी विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटनजस्ता राजनैतिक कार्यको नाममा हुने ठूला कार्यक्रम जनमानसमा सङ्क्रमण बढनुको कारण रहेको बताउँछन् । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड पालना हुन नसकेका कारण सङ्क्रमण बढिरहेको बताए ।

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरेको छ । निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमी आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने मन्त्रालयको भनाई छ ।

मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही साता अझै पनि चुनौतीपूर्ण रहने पनि जनाएको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनैतीपूर्ण रहने भएकाले सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ ।

‘जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लंघन भइरहेको देखिन्छ’ सूचनामा छ । कोरोना भाइरसविरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने अधिकारीले बताए ।

मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL