Logo

पाम तेलको स्थान सोयाबिन तेलले ओगट्दै, ९ महिनामा पौने २९ अर्वको निर्यात

पाम तेलको स्थान सोयाबिन तेलले ओगट्दै, ९ महिनामा पौने २९ अर्वको निर्यात



काठमाडौं । पछिल्लो समय नेपाली व्यवसायीहरुले अन्तरराष्ट्रियस्तरमै खाने तेलको कच्चापदार्थको मूल्य बढेको भन्दै मूल्य अचाक्ली बढाएका छन् । पछिल्लो ४ देखि ५ महिनामा मात्रै नेपाली बजारमा खानेतेलको मूल्य प्रतिलिटर १ सयभन्दा बढीले वृद्धि भएको छ । तर, चालु आर्थिक बर्षको पछिल्लो ९ महिनाको तथ्यांकलाई हेर्दा खानेतेलको कच्चा पदार्थ र खानेतेलको आयात–निर्यात उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ ।

अघिल्लो बर्ष उल्लेख्य रुपमा वृद्धि भएको पाम तेलको स्थान हाल सोयाबिन तेलले ओगटेको देखिन्छ । अर्थात अघिल्लो बर्ष आयात र निर्यातको सूचीको प्रमुख १० औं स्थानमा पर्ने पाम तेल अघिल्लो बर्षको बैशाखदेखि निर्यात शून्य देखिन्छ । अर्थात नेपाली व्यवसायीहरुले अत्याधिक भ्यालु एड गरेर भारतमा निकासी गर्न सकिने पाम तेलको आयातमा भारतले प्रतिवन्ध लगाएपछि नेपाली व्यवसायी सोयाबिन तेलको निर्यातमा केन्द्रित भएका छन् ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ९ महिनामा मात्रै नेपालले ३१ अर्ब ८१ करोड २६ लाख रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात गरेको छ । जुन कुल आयातको २ दशमलव ९ प्रतिशत हिस्सा हो । गत बर्षको यही अवधिमा जम्मा १२ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको सोयाबिन तेलको कच्चा पदार्थ यो बर्ष १५३ दशमलव ७ प्रतिशतले वृद्धि भएको हो । पछिल्लो ९ महिनामा नेपालमा उच्च आयात हुने ७ औं वस्तुमा कच्चा सोयाबिन तेल परेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै यहि अवधिमा नेपालबाट भने २८ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ बराबरको रिफाइन्ड सोयाबिन तेल निर्यात भएको छ । नेपाली व्यवसायीहरुले उल्लेख्य मात्रामा विदेशबाट सोयाविन तेलको कच्चा पदार्थ ल्याएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको पाईएको छ ।

चालु आवको ९ महिनामा धेरै निर्यात हुने पहिलो स्थानमा सोयावीन तेल परेको छ । अघिल्ला बर्ष यो स्थान पाम तेलले ओगट्ने गरेको थियो । चालु आवको ९ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपालले २६८ दशमलव ४ प्रतिशत बढि सोयाबिन तेलको निर्यात गरेको छ । जुन कुल निर्यातको ३० दशमलव ४ प्रतिशत हो । गत बर्षको यही अवधिमा नेपालले ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निकासी गरेको थियो ।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका अनुसार नेपालमा कच्चा सोयाबिन तेल अर्जेन्टिना, ब्राजिल, पाराग्वे, युक्रेनलगायत १३ बढी देशबाट आउने गर्छ । यसरी आयत गरिएको कच्चा सोयाबिन तेललाई नेपालमा विभिन्न कमपनीले प्रशोधन गरेर प्रशोधित तेलका रुपमा भारतमा निर्यात गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL