Logo

सबै अस्पतालमा अक्सिजन प्लान्ट राख्न निर्देशन, आवश्यक बजेट बिनियोजन

सबै अस्पतालमा अक्सिजन प्लान्ट राख्न निर्देशन, आवश्यक बजेट बिनियोजन



काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सक्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन ।

उनले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर सक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिससका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गरेका छन् ।

यसैगरी अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न पनि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आह्वान गरेका छन् ।

सो भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँटोलबीच जनचेतना फैलाउन र बिरामीलाई सम्भावपूर्ण व्यवहार गर्न स्थानीय निकायले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको बताए ।

यस्तै प्रदेश सरकारको पहिलो प्राथमिकताका साथ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर, आवश्यकीय चिकित्सक र स्वास्थ्यकर्मी तथा पिसिआर परीक्षणको दायरा बढाउनका लागि सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई बजेट निर्देशित गरिसकिएको समेत उनले जानकारी दिए ।

उक्त बैठकमा प्रदेश सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले प्रदेशका सबै जिल्ला अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरिएअनुसार अस्पतालका चिकित्सकले पनि बिरामीलाई सद्भाव व्यवहार प्रदर्शन गरी उपचार सेवालाई निरन्तरता दिनुपर्ने र मन्त्रालयले आवश्यकीय स्रोतसाधन तथा बजेट उपलब्ध गराइएअनुरुप इमान्दारीसाथ काम गर्न आग्रह गरेका छन् ।

उक्त संवादका क्रममा प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल र प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले प्रदेश सरकारले १३ वटै जिल्लाको अस्पताललाई अहिले अक्सिजन सिलिन्डर उपलब्ध गराइँदै आएको र ती अस्पतालमा आवश्यकीय चिकित्सक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइसकिएको बताए । साथै स्थानीय तहहरुमा बिरामीको चापलाई दृष्टिगत गरी आइसोलेशन कक्ष र क्वारेन्टिनको व्यवस्था मिलाउन मन्त्रालयले निगरानीका साथ कदम अघि बढाएको बताएका थिए ।

प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालमा आइसियु कक्ष र भेन्टिलेटर कक्षको व्यवस्थापन मिलाइएको समेत सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सेढाईंले जानकारी दिए । उनका अनुसार १३ वटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग पनि मुख्यमन्त्री पौडेलले कोभिड अस्पतालमा बिरामीको उपचार भइरहेको विषयमा जानकारी लिएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL