Logo

कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय, परिआए कानूनी जटिलता फुकाइने

कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय, परिआए कानूनी जटिलता फुकाइने



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको बैठकमा जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन प्रधानमन्त्रीले मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

सिंहदरबारमा भएको बैठकमा ओलीले पैसाको अभावमा कसैको ज्यान नजाओस् भन्दै सबैलाई एकजुट भएर काम गर्न आग्रह गरे । बैठकमा प्रधानमन्त्रीले राखेको धारणा उधृत गर्दै परराष्ट मन्त्री प्रदीप ज्ञवालीले भने ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुप¥यो । पैसाको अभावले कसैको ज्यान जान हुँदैन ।’

यसैबीच, सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको हो ।

महामारी नियन्त्रण गर्न कानूनी जटिलता छ भने त्यसलाई पनि फुकाउने निर्णय भएको भन्दै ज्ञवालीले भने, ‘त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्नेछौं ।’

तत्काल खोप आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको भन्दै मन्त्री ज्ञवालीले थपे, ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने , उद्योगलाई बिजुली महसुल लगायतमा सहुलियत दिने, लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं ।’

बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन पनि दिइएको छ ।

खोप लगायतका अत्यावश्यकीय वस्तु अग्रिम भुक्तानी नगरेसम्म नपाइने तर हाम्रो सार्वजनिक खरिद ऐनले एड्भान्स पेमेन्टको परिकल्पना नगरेकाले पनि कानूनी फेरबदल जरुरी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL