काठमाडौं । सरकारले ११ देशका राजदूत सिफारिश गरेको छ । केहि दिन अघिको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका दुई सहसचिवसहित ११ जनाको नाम सिफारिस गरेको हो ।
एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् भने एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपालसमेतलाई राजदुतमा सिफारिश गरिएको छ ।
राजदुतमा सिफारिश गरिएकाहरुमा निर्मलराज काफ्ले- अष्ट्रिया, जीवनप्रकाश श्रेष्ठ- इजिप्ट, रमेशचन्द्र पौडेल- श्रीलंका, कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया, सुम्निमा तुलाधर- अष्ट्रेलिया, जंगबहादुर चौहान- रुस, नारायणप्रसाद संग्रौला- म्यानमार, युवराज कार्की- बहराइन, कुलप्रसाद नेपाल- ब्राजिल, सुमित्रा सुवेदी- डेनमार्क र मेराज मुसलमान- साउदी अरेबिया रहेका छन् ।