काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले काठमाडौं महानगरपालिकालाई राष्ट्रिय सभागृह भवन छोड्न निर्देशन दिएको छ । सभागृहको उचित संरक्षण र सम्वद्र्धन हुन नसकेको भनी आयोगमा परेको गुनासोमा आधारमा सभागृह छोड्न निर्देशन दिएको हो ।
आयोगले अख्तियार दुरुपयोग अनुसन्धन आयोग ऐन २०४८ को दफा २८ ख बमोजिक विभिन्न सुझाव पठाएको प्रवक्ता कृष्णहरी पुष्करले बताए । ‘आयोगले ३० दिनभीत्र उपयुक्त विकल्प खोजी आफ्नो कार्यालय स्थानान्तरण गर्न निर्देशन दिएका हो’ उनले भने ।
सभागृहलाई गत बर्ष सरकारले अन्तरराष्ट्रिय सम्मेलन आयोजनाका लागि ठूलो धनराशी खर्च गरी संभार गरेको थियो ।
आगामी दिनमा समेत राष्ट्रिय तथा क्षेत्रीय तथा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्नपर्ने हुँदा महानगरपालिकाको कार्यालय हुनु असान्दर्भिक देखिने बताइएको छ ।
अन्यत्र कार्यालय भवन खोज्ने प्रयोजनका लागि प्रचलित कानुनले दिएको सुविधा अनुसार द्रतमार्ग प्रयोग गरी प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ ।