Logo

कोरोनामा आयात सहज बनाउन राष्ट्र बैंकको सहुलियत, एक लाख डलरसम्मको टीटी सुविधा

कोरोनामा आयात सहज बनाउन राष्ट्र बैंकको सहुलियत, एक लाख डलरसम्मको टीटी सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै टीटीमार्फत १ लाख डलरसम्मको भुक्तानी सुविधा उपलब्ध गराएको छ । यस अघि टीटीमार्फत ३५ हजार डलरसम्म मात्रै भुक्तानी सुविधा दिँदै आएकोमा हाल आएर वृद्धि गर्दैै १ लाख डलर पुर्र्याएको हो ।

राष्ट्र बैंकले कोभिडको वर्तमान समस्यालाई रोकथाम तथा न्यूनीकरणमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको सिफारिसमा कोभिडसँग सम्बन्धित औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरणहरु आयातका लागि एउटै बिलबाट १ लाख अमेरिकी डलरसम्म टीटीमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । तर, १ लाख डलरभन्दा माथिको भुक्तानीमा भने स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिनुपर्नेछ ।

यसैगरी अक्सिजनसँग सम्बन्धी उपकरण, भेन्टिलेटर र स्वास्थ्य उपचारमा सहयोग पुर्याउने जीवनरक्षक स्वास्थ्य सामग्री आयातको हकमा २०७८ असार मसान्तसम्म टीटीमार्फत सामान आयात गर्न स्वास्थ्य सेवा विभागको सिफारिस अनिवार्य नहुने समेत बैैैकले जानकारी दिएको छ ।

तर, उक्त व्यवस्था बमोजिम सामान आयात गर्दा विदेशी विनिमय अपचलन भएमा सम्बन्धित आयातकर्तानै जिम्मेवार हुने स्वाघोषणा भने गर्नुपर्ने छ । त्यसरी आयात भएको विवरण भने प्रत्येक महिना तोकिएको ढाँचामा विभागसमक्ष पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL