Logo

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, सरकार संकटमा

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, सरकार संकटमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिँदैछन्।

यस क्रममा उनले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउँछन् भने बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

नेकपा–एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको ठोस प्रस्ताव ल्याउन आज बिहान ९ बजेसम्मको समय दिएको छ।

नेपाल पक्षका सांसदले हिजै राजीनामा दिने तयारी गरेको थियो। तर ओली पक्षको अनुरोधपछि उनीहरूले लामो छलफलपछि सहमतिका लागि आज बिहानसम्म पर्खने निर्णय गरेका हुन्।

विश्वासको मत माग्नुअघि सहमति भएन र नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिए भने प्रधानमन्त्री ओलीलाई बहुमत नपुग्ने निश्चित छ। त्यसपछि उनले पदबाट राजीनामा दिनुपर्नेछ।

संसदको कूल सदस्य संख्या २७५ मध्ये माओवादी केन्द्रका ४ सांसद एमालेमा गएका कारण बर्खास्त गरिएकाले अहिले संसदमा कायम सदस्यको संख्या २७१ मा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा कम्तीमा १३६ मत प्राप्त गर्नुपर्छ।

तर संसदको कायम सदस्य संख्या २७१ मा पनि कांग्रेसका विजयकुमार गच्छदार, अफताब आलम, तथा जसपाका रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा परेकाले मतदान गर्न पाउने सांसदको संख्या २६७ मात्र हुन्छ।

यीमध्ये पनि सभामुखले मत हाल्न नपाउने भएकाले मतदानमा सहभागी हुन पाउने खास सदस्यको संख्या २६६ हुन जान्छ। यिनैमध्येबाट प्रधानमन्त्री ओलीले १३६ मत ल्याउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL