Logo

नुवाकोटका ३ युवाले बनाए सेन्सरयुक्त ह्याण्ड सेनिटाईजर मेसिन, यस्ता छन् विशेषता

नुवाकोटका ३ युवाले बनाए सेन्सरयुक्त ह्याण्ड सेनिटाईजर मेसिन, यस्ता छन् विशेषता



काठमाडौं । नुवाकोटका तीन युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् । नुवाकोट साईन्स क्लबका काजी खान, इञ्जिनियरद्वय नरेश्वर पाण्डे र यशराज खड्काले लकडाउनकै बीच उक्त मेसिन निर्माण पूरा गरेका हुन् ।

माईक्रो कन्ट्रोलर सर्किटको प्रयोग गरिएको मेसिनमा दुई लिटर क्षमताको कन्टेनर रहेको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रति तीन सेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह हुने काजी खानले बताए । ‘सेन्सरयुक्त भएकाले मेसिनमा हात राखेको तीन सेकेण्डमा स्यानिटाइज निस्कन्छ र बन्द हुन्छ’, उनले भने ‘मेसिनको परीक्षण पूर्ण रुपमा सफल भईसकेको छ । बजारको माग रहे उद्योग नै स्थापना गरी व्यवसायिक रुपमा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन उत्पादन गर्ने छौँ । सम्भवतः सरकारी कार्यालय र स्थानीय तहका कार्यालयले मात्र हाम्रो उत्पादनलाई लिए नुवाकोट जिल्लामा विज्ञान तथा प्रविधिले उचित स्थान पाउने छ ।’

स्वचालित मेसिनमा स्यानिटाइजरको साथै स्याम्पु र झोलसहितको साबुनसमेत राखेर प्रयोग गर्न सकिने इञ्जिनियर नरेश्वर पाण्डेले बताए । मेसिनको प्रयोगबाट सामाजिक दुरी कायम गर्न सहज हुनुको साथै मानव सम्पर्क कम गर्ने, मानव स्पर्श विना सञ्चालन हुने, हातको पूर्ण स्वच्छताको साथै सेनिटाइजरको न्यूनतम खपत हुनेछ । यस्तै, मेसिनमा वैकल्पिक उर्जाको लागि स्रोत एसी र डिसी दुवै प्रयोग गर्न सकिने छ ।

यसमा २ लिटर भण्डारण गर्ने क्षमता रहेतापनि आउटलेटमा आफ्नो आवश्यकता अनुसार पाईप बढाएर जति पनि भण्डारणमा जोड्न सकिने छ । यस अघि भक्तपुरमा बनाएकोमा चार लिटरको क्षमता रहेको थियो ।

‘उक्त मेसिन उच्च सेन्सर प्रविधिको प्रयोगबाट निर्मित आफ्नो आवश्यकताअनुसार भित्तामा र टेबलमा राख्न मिल्ने गरी विकास गरिएका छौं’, उनले भने ‘उनले आफूहरुले तयार गरेको यस्तो विशेषता भएको सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन नेपालकै पहिलो रहेको छ ।’

‘मेसिनको बजारीकरणको लागि लकडाउनको कारणले गर्दा असहज भएको छ’, उनले भने ‘हामीले बनाएको मेसिनको स्थानीय बजारमै खपत गराउने हाम्रो पहिलो लक्ष्य रहेको छ । बजारको माग भएमा १०० वटा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाउन तयार रहेका छौं ।’

नुवाकोट साईन्स क्लबमा आबद्ध रहेका युवाहरुले यस अघि नुवाकोटका महोत्सव, विद्यालय तथा अन्य कार्यक्रमहरुमा विज्ञान प्रदर्शनी तथा विभिन्न गतिविधि गर्दै आईरहेका छन् । यस मेसिनको साथै स्वचालित गृह कन्ट्रोल मेसिन, अटोमेटिक वाटर ट्यांक कन्ट्रोल प्रणाली लगायतका उत्पादनहरु बजारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL