Logo

कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप्न उद्योग वाणिज्य महासंघको आग्रह

कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप्न उद्योग वाणिज्य महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भूभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ ।

महासंघले मंगलबार सरकारको सम्बन्धित निकायहरुमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो ।

कोभिड महामारिका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण

वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने भन्दै महासंघले समय थप गर्न आग्रह गरेको हो । अघिल्लो वर्ष भएको लामो लकडाउनपछि तङ्ग्रिन सुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको महासंघको भनाइ छ । सार्वजनिक यातायातको सञ्चालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको र चलेका पनि अत्यन्त कम क्षमतामा सञ्चालित भएको जनाएको छ ।

महामारी कति लामो समय जान्छ भन्न सक्ने अवस्था नरहेको महासंघको भनाइ छ । बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारलगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने भन्दै समयमै सरकारले नीतिगत सहयोगसमेत गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL