Logo

कोभिड सक्रमितलाई अक्सिजनको व्यवस्था गर्न सरकारको नयाँ कदम, चीनबाट २० हजार सिलिन्डर ल्याउने

कोभिड सक्रमितलाई अक्सिजनको व्यवस्था गर्न सरकारको नयाँ कदम, चीनबाट २० हजार सिलिन्डर ल्याउने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती सिलिण्डरहरु अर्को हप्ता चीनबाट आईपुग्ने छ । मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको उनको भनाई थियो । ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन,’ उनले भने, ‘तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्याउन कठिन भएको हो ।’

मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न समेत अनुरोध गरेको छ ।

नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL