काठमाडौं । नेपाल राष्ट्र बैंकले समाजको तल्लो वर्गलाई सेवा दिइरहेको आधारमा फितलो निगरानी गर्दा लघुवित्तीय संस्थाहरुले मुलुकको प्रतिकूल आर्थिक अवस्थाका बीच आकर्षक ब्यालेन्स सीट प्रकाशित गर्न सफल भएका छन् । तर, गहिरिएर हेर्ने हो भने लघुवित्तीय संस्थाहरुको खास असूली भएको छैन ।
ब्याजलाई पुँजीकृत गर्ने अर्थात पाकेको सम्पूर्ण ब्याजलाई सावाँमा परिणत गर्दा उनीहरुको असूली देखिएको, नाफा बढेको, ब्यालेन्स सीटको आकार बढेको देखिएको छ । सेयर बजारमा समेत यसको सकारात्मक असर परिरहेको छ । तर, दीर्घकालमा भने साना लगानीकर्ताहरु नराम्ररी फस्न सक्ने सेयर विज्ञहरुको विश्लेषण रहेको छ ।
नाफा कसरी भयो ?
विगत एक बर्षदेखि मुलुक कोभिडको महामारी र राज्य व्यवस्थापनको कमजोर अवस्थाका बीच गुज्रिरहेको छ । आर्थिक गतिविधिहरु साँघुरिएका छन् । तथ्यांक विभागले गरेको अनुमान अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनसमेत घटेको छ । उद्योगधन्दाहरु राम्ररी सञ्चालनमा आउन सकिरहेका छैनन् । लाखौंको रोजगारी गुमेको अवस्था छ । नयाँ परियोजना स्थापना र नयाँ रोजगारी सिर्जना हुन सकिरहेको छैन । यस्तो अवस्थामा अधिकांश लघुवित्तीय संस्थाहरुले नाफामा दोब्बरले बढोत्तरी गरेका छन् । ती संस्थाहरुको कर्जा लगानी ठूलो परिमाणमा बढेको देखिएको छ । प्रमुख आम्दानीको स्रोत ब्याज नै हो र यसबाट प्राप्त आम्दानी अधिकांशको दोब्बर नै देखिएको छ । ब्याजदर घटेका कारण बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी घटेको देखिएको छ ।
अधिकतम सीमा तोकिएपनि ब्याजदर घटेकोले मार्जिन बढी भएर ब्याज आम्दानी बढेको एक लघुवित्त कम्पनीका कार्यकारी प्रमुखले बताए । ब्यालेन्स सीटमा देखाइएजस्तो गरी ब्याज असूली भएकोमा पनि राष्ट्र बैंकको खुकुलो नीतिले काम गरेको उनको भनाइ छ ।
लघुवित्तीय संस्थाहरुले गतबर्षसम्म करिव ३० लाखलाई कर्जा उपलब्ध गराएको देखिन्छ । लघुवित्तय संस्था संघले दिएको जानकारी अनुसार लघुवित्तीय संस्थाहरुले झण्डै ३० लाखभन्दा बढीलाई सेवा दिएकोमा अहिले बजारमा ऋणी खोसाखोसको अवस्थाले साढे २ लाखदेखि ३ लाखको संख्याले कर्जाका उपभोक्ताहरु घटेका छन् । उनीहरु कतिपय विकास बैंक र गाउँ–गाउँमा शाखा खोलिएपछि कतिपय वाणिज्य बैंकहरुको पहुँचमा समेत पुगेका छन् ।
कर्जाका उपभोक्ता नै घटेका छन् भने कर्जा रकम ह्वात्तै कसरी बढ्यो त ? एक लघुवित्त संस्थाका ती कार्यकारी प्रमुखको भनाइ थियो, कर्जाको रकम तिनै सीमित व्यक्तिमा बढेको हुनसक्छ । उनले ब्याज पुँजीकृत गरिएको कुरालाई नकार्न सकेनन् । राष्ट्र बैंकले कडा निगरानी गर्ने हो भने असूल नभएको कर्जामा नोक्सानीवापतको रकम छुट्याउनुपर्ने हुन्छ । यसो गर्दा अहिले नाफा देखिएका र तिनै ऋणीलाई कर्जाको भार थोपरिरहेका लघुवित्तीय संस्थाहरुको नाजुक रुप उदाङ्गो हुनेछ । अहिलेको सहज तरलतामा चाप पर्दै गएपछि यस्ता संस्थाहरुको मार्जिन घट्ने भएकाले आफै ठेगान लाग्ने राष्ट्र बैंकका एक अधिकारीले स्पष्ट पारे ।
लघुवित्तको सेयरमा जुवा
अधिकांश लघुवित्तीय संस्थाहरुको सेयरमूल्य अहिले हजार रुपैयामाथि र करिव चार हजार रुपैयाँ मुनिको रेञ्जमा रहेको छ । ती सेयरमध्ये अधिकांश खेलाडी व्यापारीको हातमा पुगिसकेको छ । अहिले बैंकहरुको सेयर बिक्री गरेर कतिपय ठूला लगानीकर्ताहरु समेत लघुवित्तीय संस्था जस्ता साना कम्पनीमा केन्द्रित भएका छन् । कतिपय विकास बैंकहरु समेत लघुवित्त कम्पनीहरुको साधारण सेयरका खेलाडी बनिसकेका थिए । तर यसमा भने राष्ट्र बैंकले रोक लगाएको छ । तर ठूला लगानीकर्ताहरु भने लघुवित्त कम्पनीहरुमा झुम्मिने गरेका छन् र ती कम्पनीको पूरै सेयर आफ्नो हातमा लिएर मूल्यलाई अपत्यारिलो उचाईमा बिक्री गरिरहेका छन् ।
ठूलो रकम संकलनका लागि समूहमा मिलेर तिनीहरुले यस्ता कम्पनीहरुको सेयरको कारोबार गरिरहेको समेत बुझिएको छ । मूल्य बढाउन उनीहरुले समूहभित्रै कारोबार घुमाउने गरेका छन् । त्यसैले बजार बढ्दा सबैभन्दा बढी लघुवित्त कम्पनी र मूल्यलाई नियन्त्रणमा राखिएका चन्द्रागिरी हिल्स, नेसनल हाइड्रो, माउन्टेन इनर्जीलगायत केही साना जलविद्युत कम्पनी, विशाल बजार, शिवम सिमेन्ट, हिमालयन डिस्टिलरी, राष्ट्रिय बीमा कम्पनीहरुको मूल्य बढाउने र बजार घट्दा घटाउने खेलमा लागेका छन् । यस्तो प्रवृत्ति मौलाउँदै जाँदा विशेषगरी साना लगानीकर्ताहरु फस्ने जोखिम बढ्दै गएको छ । कमिशन मात्र नोक्सान हुने तर आफ्नै समूहभित्र त्यस्ता कम्पनीको सेयरको कारोबार गराउने प्रवृत्तिलाई नियन्त्रण गर्ने जिम्मेवारी नियामक निकाय धितोपत्र बोर्ड भएको बताउँदै फोरम सम्बद्ध एक लगानीकर्ता भन्छन्, तर यो निकाय पनि अहिले रमिते भएर बसेको छ । यसले गर्दा बजारमा जुवाडे प्रवृत्ति मौलाउँदै गएको छ र साना लगानीकर्ता फँस्नसक्ने जोखिम बढ्दै गएको छ ।