Logo

एक खर्ब डलरको अर्थतन्त्र बनाउन सूचना प्रविधिमा जोड, भिजन पेपरमा प्रविधिलाई महत्व दिएको दिएका छौं : अध्यक्ष गोल्छा

एक खर्ब डलरको अर्थतन्त्र बनाउन सूचना प्रविधिमा जोड, भिजन पेपरमा प्रविधिलाई महत्व दिएको दिएका छौं : अध्यक्ष गोल्छा



काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सूचना प्रविधिको विकासले मात्र देशको अर्थतन्त्र विकास हुने बताएका छन् । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार मान्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महासंघले हालै अघि बढाएको ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ भिजन पेपरमा प्रविधिलाई निकै महत्व दिएको उनले बताए । उक्त भिजनमार्फत आगामी १० बर्षमा नेपालको अर्थतन्त्र १ खर्ब डलरको बनाउने रहेको र थप ३५ लाख रोजगारी सिर्जना गर्न सकिने उनले बताए ।

यसमा कार्यान्वयनमा लान सकिने १०० ओटा योजना रहेकोमा सूचना प्रविधिसम्बन्धी योजना नै १४ वटा रहेको उनले बताए । ७ वटा जति प्रविधि विकासका काम तत्काल गर्न सकिने उनले बताए । डाटा सेन्टर स्थापना गरी इ–हाट बजारमार्फत कृषि उपजको बिक्रीमा बिचौलियाको अस्वस्थ भूमिकालाई कम गर्न सकिने उनले बताए ।

‘विगतमा गाँस, बास र कपासको उपलब्धताको आधारमा असमानता वा गरिबी मापन गर्ने गरिएकोमा अब प्रविधिको प्रयोगको उपलब्धताको आधारमा पनि असमानता र गरिबी घटबढ हुने अवस्था आएको छ,’ उनले भने, ‘जस्तो विद्यालयलहरुले सञ्चालन गरिहेको अनलाइन कक्षा प्रविधि तथा इन्टरनेटको पहुँच नहुनेले लिन नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।’

यो पटकको बजेटमा न्युन आय भएका बालबालिकालाई न्युनतम सुविधा भएको कम्प्युटर र इन्टरनेटको सेवा दिनुपर्ने उनले बताए । सरकारले स्थानीय र प्रदेशमा जाने ठूलो रकम अनुत्पादक क्षेत्रमा गर्नुभन्दा बालबालिकाको शिक्षामा प्रविधि विकासमा खर्चिनु उपयुक्त हुने उनको भनाइ छ । उद्योगहरुको नाफाको १ प्रतिशत रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको भन्दै यसलाई अझ बढावा दिनुपर्ने बताए ।

ग्लोबल इनोभेशन इन्डेक्स २०२० अनुसार नेपाल १३१ मुलक मध्ये ९५ औं स्थानमा हुन सन्तोषजनक नभएको भन्दै उनले नेपालले विदेशमा विकास भएका प्रविधिको प्रयोग गर्दै आफ्नै प्रविधिको विकासमा पनि जोड दिनुपर्ने बताए ।

विश्वमा उच्च प्रविधको प्रयोगबाट उत्पादक लागत कम हुने र नेपालमा प्रविधिको प्रयोग गर्न नपाउँदा उत्पादन लागत बढेको र व्यापार घाटा बढेको बताए । त्यसो हुँदा नेपालले आफ्नै प्रविधि विकासमा ध्यान दिनुपर्ने बताए ।

‘महामारीमा पनि दैनिकी चलाउनै पर्ने बाध्याता छ,’ उनले भने, ‘दोस्रो लहरको कर बढ्दै गएपछि प्रधानमन्त्रीसँग भर्चुअल मार्फत छलफल गर्ने अवसर प्रविधिले नै पनि सक्षम बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL