Logo

बाँकेको स्थिति भयावह भएसँगै सीसीएमसीको चासो, जीवन रक्षाका लागि कुनै कसुर बाँकी नराख्न संयोजक पोख्रेलको निर्देशन

बाँकेको स्थिति भयावह भएसँगै सीसीएमसीको चासो, जीवन रक्षाका लागि कुनै कसुर बाँकी नराख्न संयोजक पोख्रेलको निर्देशन



काठमाडौँ, १९ बैशाख । सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लाको स्थिती भयावह हुन नदिन निर्देशक दिएका छन् । पछिल्लो समय बाँके जिल्लामा कोरोना संक्रमण उच्च रुपमा बढेसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज बिहान टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए । कुनै गम्भीर विषय भएमा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बाँके जिल्लाको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालहरुमा बढिरहेको, अस्पतालमा बेडको अभाव भएको, मेडिकल डाक्टरहरुको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराए । साथै संयोजक पोखरेलले यी सबै विषयमा तत्कालै सिसिएमसीका तर्फबाट सम्बोधन गरिने बताए ।

संयोजक पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्न समेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्