Logo

मास्कमा कालोबजारी गर्ने उद्योगलाई कारबाही, भक्तपुरको हिमालयन लाइफ केयर इन्डस्ट्रिजलाई ५० हजार रुपैयाँ जरिवाना

मास्कमा कालोबजारी गर्ने उद्योगलाई कारबाही, भक्तपुरको हिमालयन लाइफ केयर इन्डस्ट्रिजलाई ५० हजार रुपैयाँ जरिवाना



काठमाडौं । मास्कमा अत्यधिक मूल्य लिएर कालोबजारी गर्ने मास्क उद्योगलाई कारबाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी आएपछि विभागको अनुगमन टोलीले अनुगमन गरी भक्तपुरको हिमालयन लाइफ केयर इन्डस्ट्रिजलाई कारबाही गरेको हो ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएरको बेला मास्क उद्योगीले कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिन थालेपछि विभागमा उजुरी परेका आधारमा विभागले उद्योगलाई ५० हजार जरिमाना गरी कारबाही गरेको छ । विभागले उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसारको कसुरबमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

उद्योलले बजारमा सर्वसाधारणले खुद्रा मूल्य प्रतिपिस न्यूनतम १० रुपैयाँमा खरिद गर्ने गरेको मास्क प्रतिपिस २ देखि ४ रुपैयाँका दरले थोक बिक्रेतालाई ४५ पिसको पाकेट बनाई बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईंका अनुसार उद्योगीले प्रतिमास्क २५ देखि ५० पैसासम्म मूल्य वृद्धि गरेका छन । बजारमा मास्कको माग बढेपछि व्यापारीले मनपरी मूल्य बढाएर कालोबारी गर्ने गरेको अनुगमनमा पाइएको छ । थोक व्यापारीले मास्कको मूल्य बढाएका छन् । बजारमा पाइने सामान्य खालको सर्जिकल मास्कको होलसेल मूल्य यसअघि २ रुपैयाँ थियो ।

तर, संक्रमण दर बढेपछि र प्रहरीले मास्क अनिवार्य गरेपछि व्यापारीले मनपरी मास्कको मूल्य दोब्बर बढाएका छन् । यसअघि पनि उजुरीका आधारमा होलसेल व्यापार गर्ने पाँचवटा फर्मलाई १०-१० हजारको दरले जरिमाना गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL