Logo

कर्णाली प्रदेश सरकारले गर्याे कोभिड रोकथामका लागि १ अर्ब बजेट व्यवस्था, ५० करोड कोभिड कोषमा राखिने

कर्णाली प्रदेश सरकारले गर्याे कोभिड रोकथामका लागि १ अर्ब बजेट व्यवस्था, ५० करोड कोभिड कोषमा राखिने



काठमाडौं । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि १ अर्ब बजेट व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले बिहीबार पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र जनताको स्वास्थ्य सुरक्षाका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याउने तथा विकास बजेटबाट रकमान्तर गरी तत्काल ५० करोड रुपैयाँ कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिईन ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले कोरोना नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल सुर्खेतलाई तत्काल २२ करोड, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई सरकारले १२ करोड बजेट निकासा पठाएको बताईन । उनका अनुसार प्रदेश भित्रिने ४ नाकामा स्वास्थ्य जनशक्ति थप गरी एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाइएको छ ।

यो प्रदेशसमा हालसम्म १ लाख २ सय २२ जनाको पिसीआर परीक्षण भएकामा ८ हजार ३ सय २ जनामा सङ्क्रमण देखिएको र त्यसमा ७ सय ६० सक्रिय सङ्क्रमित भएको र हालसम्म कोरोना भाइरसबाट ३९ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै सरकारले प्रदेशभरिका सम्पूर्ण रकारी, सामुदायिक, गैरसरकारी, निजी अस्पतालमार्फत कोभिड सङ्क्रमित बिरामीको उपचार व्यवस्था मिलाएको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्