Logo

निर्यातजन्य वस्तुलाई अत्यावश्यकको सूचीमा राख्न फिनको माग, अर्थतन्त्रको चेन जोगाउन आग्रह

निर्यातजन्य वस्तुलाई अत्यावश्यकको सूचीमा राख्न फिनको माग, अर्थतन्त्रको चेन जोगाउन आग्रह



काठमाडौं । नेपालका निर्यात व्यवसायीहरुले निर्यातजन्य वस्तुहरुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्यात व्यवसायी महासंघ नेपालले यस्तो माग गरेको हो ।

सरकारले कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै पुनः आजैदेखि निशेधाज्ञा लगाएको छ । जसमा अत्यावश्यक वस्तुबाहेकका सबै सेवाहरुलाई बन्द गर्द निर्देशन दिईएको छ । तर यस्तै व्यवस्थाले निर्यात क्षेत्रका साथै देशको अर्थतन्त्रलाई नै ठुलो क्षति पुर्याएको व्यवसायी बताउँछन् ।

भर्खरै लयमा आउनलागेको अर्थतन्त्रमा पुन संक्रमणको दर बढ्दै जाँदा त्यसको नकारात्मक असर परेको व्यवसायीको भनाई छ । सरकार, निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व भनेको कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन हो । तसर्थ सरकारले जनताको स्थास्थ्य सुरक्षाका लागि चालेको यो प्रयासमा यस महासंघ सहयोगको लागि प्रतिबद्ध छ ।

सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने र आर्थिक गतिविधी संञ्चालन गर्न सहज वातावरण वनाउन आवश्यक रहेको महासंघको भनाई छ । यस्तो अवस्थामा दैनिक उपभोग्य सामाग्रीका उद्योग, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योग, महत्वपुर्ण परियोजनाहरु संचालन गर्नु आवश्यक छ ।

त्यस्ता उत्पादित वस्तुको सहज आपूर्ति, ढुवानी, विक्री, स्वदेश मै कच्चा पदार्थको उत्पादन तथा आयातमा सहज बनाउनका साथै निर्यातजन्य उद्योगका कर्मचारी तथा मजदुरलाई कार्यालय आवतजावत गर्नको लागि सहजिकरण गर्नु आवश्यक छ । जसले एकातर्फ उत्पादनको चेन ब्रेक नभई अर्थतन्त्रलाई चलायमान राख्न मद्दत गर्छ भने अर्को तर्फ मजदुरहरुको दैनिक जिविकोपार्जनको समस्या पनि हल हुन्छ । कोभिडका कारण सृजना भएको यो संकटासन्न परिस्थितीमा असंगठित क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी मजदुर, अत्यन्त बिपन्न अवस्थामा रहेको परिवार तथा सहारा बिहिनको लागि तत्काल राहत उपलब्ध गराउन अपिल गर्दछ ।

निर्यात व्यवसाय अत्यन्त संवेदनशिल क्षेत्र भएकोले उद्योग बन्द गर्दा हाल भैरहेको मागको समय मै डेलिभरी दिन नसक्दा अर्डर क्यान्सिल हुने र त्यसको क्षतिपूर्ति पनि नहुने हुँदा निर्यात क्षेत्र मन्दिको अवस्थामा फस्न जाने चिन्ता व्यवसायीले व्यक्त गरेका छन् । जसले नेपालमा आयात निर्यात व्यापारको अनुपातलाई अझ बढाउने हुँदा व्यापारघाटामा बृद्धि हुन जान्छ । निर्यातजन्य बस्तुको उत्पादन तथा ढुवानी अतिआवश्यक वस्तु भएकाले त्यस्ता वस्तुहरुलाइ अतिआवश्यक बस्तुको सुचीमा समावेश गर्नको लागि महासंघले आग्रह गरेको हो । बिगत देखि नै निर्यातजन्य उद्योगहरु सरकारको प्राथमिकतामा नपर्दा यस क्षेत्रको बिकास अपेक्षा अनुरुप हुन नसकेको ठहर उनिहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL