Logo

लकडाउन प्रभाव : बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्य आकाशियो

लकडाउन प्रभाव : बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्य आकाशियो



काठमाडौं । पछिल्लो समय बजारमा उपभोक्ताहरुले नै संयमता नअपनाउँदा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना भएको छ । सरकारले दोस्रो चरणको लकडाउनको घोषणा गरेर कार्यान्वयन गरेसँगै उपभोक्ताहरुले आफुलाई आवश्यक वस्तुहरु चाहिनेभन्दा बढि जोहो गरेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

दुई सिलीण्डर ग्याँस भए पुग्नेले ४ देखि ६ सिलीण्डर राख्ने, १ बोरा चामल भए पुग्नेले ६ बोरासम्म चामल राख्नाले बजारमा बस्तुहरुको कृत्रिम अभावसमेत सिर्जना भएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

बजारमा अहिले कुनै पनि वस्तुको अभाव नभएपनि उपभोक्ताले नै संयमता नअपनाउँदा यस्तो अवस्था आएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । यसरी उपभोक्ताले आवश्यकभन्दा बढि वस्तुको खरिद गर्दा विक्रेताले नै यसरी दिन नमिल्नेगरी नियम भने सरकारले नै बनाउनुपर्ने उनि बताउँछन् । सरकारी निकायले निश्चित समयमा विभिन्न क्षेत्रमा अनुगमन गरी उपभोक्तालाई मनपरी ढंगले वस्तु बेचेर बजारमा अभाव सिर्जना गराउने विक्रेताहरुलाई कडा सजाय हुनुपर्ने उनी बताउँछन् ।

उपभोक्ताले पनि आफ्नो स्थानबाट बजारमा अभावको सिर्जना हुँन नदिन सहयोग गर्नुपर्छ । यता वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग पनि बजारमा कुनै पनि बस्तुको अभाव भएको जानकारी हालसम्म नआएको बताउँछ ।

विभागका प्रवक्ता सिवराज सेँढाई हालसम्म विभागमा कुनै कुरा बजारमा अभाव भएको भन्ने जानकारी नआएको बताउँछन् । तर, उपभोक्ताको बानी नै खराव भएकाले भने कृत्रिम अभावजस्तो देखिएको उनले बताए । उनका अनुसार वाणिज्य विभागले बेलाबेलामा अनुगमन पनि गरिरहेको र सोहीअनुसार बजारमा अत्यावश्यक वस्तुहरुको आपुर्ति भईरहेको छ । तर, उपभोक्तालाई कुनै विक्रेताले यो बस्तु छैन भन्दै अभावजस्तो देखाउन खोजेमा भने कानुनी कारबाही हुने उनी बताउँछन् ।

हाल बजारमा खाना पकाउने ग्याँस देखि खाद्यान्नसम्मको वस्तुको अभाव देखाइएको छ । बजारमा सबै बस्तुहरु पर्याप्त भएपनि व्यवसायीहरुले मूल्य बढाउनलाई अभावजस्तो देखाउन खोजेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

तरकारीको मूल्य बढ्यो

बजारमा व्यवसायीहरुले नक्कली अभावको सिर्जना गरेसँगै तरकारीको मूल्य पनि आकाशिएको छ । अर्थात व्यवसायीहरुले अभाव भएको भन्दै कालिमाटी तरकारी बजारको तुलनामा शतप्रतिशत बढी मूल्य राखेर बजारमा तरकारी विक्रीवितरण गरेको पाइएको हो ।

तरकारी पसलेहरुले कालिमाटीमा टमाटर नपाएको भन्दै हिजोसम्म प्रतिकिलो ३० रुपैयाँ पर्ने टमाटरलाई आज प्रतिकिलो ८० रुपैयाँ पुर्याएको एक उपभोक्ताले बताए । तर, कालिमाटी तरकारी बजारको मूल्यसूचीमा आज टमाटरको मूल्य प्रतिकिलो ३० देखि ४० रुपैयाँ तोकिएको छ । पसलेहरुले कालिमाटीमा तरकारी नपाएको भन्दै अन्य तरकारीको मूल्य पनि आफुखुसी बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL