Logo

कोरोना कहर : टाट पल्टदै तारे होटल, लगानीकर्ताले ५ बर्षसम्म लाभांश नपाउने

कोरोना कहर : टाट पल्टदै तारे होटल, लगानीकर्ताले ५ बर्षसम्म लाभांश नपाउने



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सबैभन्दा बढी मारमा परेको होटल व्यवसाय दोस्रो चरणको नयाँ भेरियण्टको संक्रमण फैलिएसँगै अझै बढी समस्यामा पर्ने भएको छ । कोरोना संक्रमण शुरु भएसँगै चपेटामा परेको होटल व्यवसाय हालसम्म पनि लयमा फर्कन सकेको थिएन । कोरोना संक्रमणका कारण लामो समयसम्म भएको लकडाउनपश्चात संचालनमा आउने तयारीमा रहेको होटल व्यवसाय पुनः दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै व्यवसाय नै टाट पल्टिने अवस्थामा पुगेको हो ।

पहिलो चरणको लकडाउनपश्चात साना होटल, रेष्टुराँ तथा क्लवहरु खुलेपनि तारे होटल संचालनमा आउन सकेका थिएनन् । विदेशी पर्यटक लक्षित होटलहरु लामो समय बन्द भएर पुनः संचालनमा ल्याउन लागि नयाँ योजना बनाइरहँदा कोरोना कारण पुनः लकडाउन हुँदा उक्त व्यवसायनै टाट पल्टिने अवस्थामा पुगेको होटल मेरियट काठमाडौंका उपाध्यक्ष सुमित अग्रवाल बताउँछन् । ‘हामी होटल संचालकलाई पहिलो वा दोस्रो चरणको कोराना संक्रमण र लकडाउन भन्ने नै छैन,’ उनले भने, ‘हामीले पहिलो चरणको लकडाउनदेखि नै होटल व्यवसायमा घाटा व्यहोर्दै आएका छौं जुन अहिले पनि निरन्तर नै छ ।’

उनका अनुसार यहिँ गतिमा कोरोना संक्रमण फैलदै जाने हो भने नेपालमा ठूला तारे होटलहरु बन्द नै हुने अवस्थामा पुग्ने छन् । विशेष गरी पाँच तारे होटल खर्चालु विदेशी पर्यटकलाई लक्षित गरी खोलिएका छन् । तर, कोरोनाले विदेशी पर्यटक आउन नसक्दा आन्तरिक पर्यटकलाई लक्षित गरी तारे होटलहरुले विभिन्न प्याकेज ल्याएका थिए । त्यसरी प्याकेज ल्याएर होटल संचालन गर्दा कुनै राम्रो नतिना नआएको र संचालन खर्चले गर्दा होटल अझै बढी घाटामा गएको अग्रवाल बताउँछन् । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण कहिलेसम्म जाने हो निश्चित छैन तर अहिलेकै अवस्था हेर्दा पनि सन् २०२३ सम्म तारे होटलहरु चल्ने अवस्था देखिएको छैन,’ उनले भने, ‘ठूला होटलहरु २ बर्ष नचल्ने हो भने त्यसको घाटा पूर्ति गरेर संचालन मुनाफामा जान ५ बर्ष लाग्नेछ ।’

पहिलो चरणको लकडाउन शुरु भएसँगै होटल एशोसिएशन नेपालका अध्यक्ष सिर्जना राणाले संचालन गर्दै आएको होटल अन्नपूर्ण खर्च धान्न नसक्ने भन्दै बन्द भएको थियो । सर्वसाधारणलाई सेयर जारी गरेका ठूला पाँच तारे होटलहरुले प्रकाशित गरेको वित्तीय विवरण हेर्ने हो भने पनि कोरोनाका कारण घाटा उच्च रहेको छ । भर्खरै मात्रै चालू आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सर्वजनिक गरेको चन्द्रागिरी हिल्स लिमिटेडको घाटा १८ करोड २२ लाख रुपैयाँ रहेको छ । जबकि उक्त कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रपैयाँ मात्र रहेको छ । यसैगरी ८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टी होटलको चालू आबको दोस्रो त्रैमाससम्मको घाटा मात्रै ११ करोड ५ लाख रुपैयाँ रहेको छ ।

नेप्सेमा सुचिकृत पाँच तारे होटलमध्ये १ अर्ब १२ करोड चुक्ता पूँजी रहेको ओरेण्टियल होटलको ६ महिनाको घाटा १४ करोड रुपैयाँ रहेको छ । यसैगरी तारागाउँ रिजेन्सी होटलको दोस्रो त्रैमाससम्मको घाटा ८ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको चुक्ता पूँजी १ खर्ब ८८ करोड रुपैयाँ रहेको छ । यसैगरी नेप्सेमा सुचिकृत नभएका तारे होटलहरुको घाटा पनि उत्तिकै उच्च रहेको सम्बद्ध संचालकहरु बताउँछन् ।

यसैगरी हानका प्रथम उपाध्यक्ष विनायक शाह पनि कोरोनाको सेकेन्ड भेरियण्ट शुरु भएसँगै होटल क्षेत्र थप तहसनहन हुने बताउँछन् । ‘हामीले अहिलेसम्म जेनतेन गरी कुल क्षमताको १० प्रतिशत मात्रै संचालन गर्दै आएका थियौं अबका दिनमा त्यो पनि बन्द हुने भयो,’ उनले भने, ‘अहिले व्यवसायीहरु होटलको घाटा नाफाभन्दा पनि लकडाउनको समयमा कसरी संचालन गर्ने त्यसका लागि पास पाहिन्छ कि पाहिँदैन भन्ने चिन्तामा छन् ।’ साथै यहि अवस्था केही समय रहने हो भने होटल व्यवसायले अबको ५ बर्षसम्म पनि प्रतिफल दिन नसक्ने उनको भनाई थियो ।

कोरोनाबाट उच्च प्रभावित होटल व्यवसायका लागि सरकारले आगामी आवको बजेटमार्फत राहतका प्याकेज नल्याएको खण्डमा सबै होटलहरु बैंकरप्ट हुने सम्भावना उच्च रहेको समेत उनको भनाई थियो । ‘अहिले मौद्रिक नीतिले कोरोनाबाट उच्च प्रभावित होटल व्यवसायको लागि २ बर्षसम्म किस्ता तथा व्याज तिर्न नपर्ने गरि छुट दिएको छ,’ उनले भने, ‘२ बर्षपछि व्यवसायीहरुले ती सबै किस्ता र ब्याज एकैपटक तिर्न सक्छन कि सक्दैनन् त्यो मुख्य विषय हो ।’ साथै अहिले रेष्टुराँ तथा होटल व्यवसायमा सिजनल र रेगुलर गरी करिव ११ लाख श्रमिक रहेको र ती श्रमिकको भष्वियसमेत अन्यौलमा रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL