काठमाडौं । काठमाडौं चाबहिलमा बसोबास गर्दै आएका सुधीर न्यौपानेले घर जान टिकट पाएनन् । उनले मंगलबार र बुधबार बिहान पटकपटक नेपालगंज जानका लागि टिकट खोज्दा पनि पाएनन् । यस्तै समस्या गौशालामा बसोबास गर्दै आएका सुवास सुवेदीलाई पनि पर्यो । उनले पनि सोमबारदेखि नै कालिकोट जानका लागि टिकट खोजिरहेका छन् । हरेकपटक टिकट लिन जाँदा काउन्टरमा उनलाई टिकट छैन सकियो भन्ने जवाफ आउँछ ।
सरकारले बिहीबार बिहान ६ बजेदेखि लागु हुनेगरी दोस्रो चरणको लकडाउनको घोषणा गरेसँगै संघीय राजधानी शहर काठमाडौंबाट आफ्नो गाउँघर फर्किनेको भीड बढेको छ । तर, घर जान आतुर धेरै यात्रुहरुले टिकट नै पाउन सकिरहेका छैनन् । गत बर्ष सरकारले १ हप्ता लकडाउनको घोषणा गरेर लम्ब्याउँदै ४ महिनासम्म पुर्याएको थियो । सोही डरको प्रभाव अहिले देखिएको छ । जसका कारण यो बर्ष लकडाउन अघि घर जानेको चाप पोहोरको तुलनामा दोब्बर छ ।
गोंगबुस्थित नयाँ बसपार्क व्यवस्थापन गर्दै आएको ल्होत्से बहुउद्धेश्यीय कम्पनीका अनुसार काठमाडौं छोडेका बसहरु पुनः काठमाडौं नफर्किँदा यात्रुको चापाचापसँगै बसको कमी खड्किएको छ । कम्पनीका महाप्रबन्धक सुनिल कुँवरका अनुसार काठमाडौं छोडेका गाडीहरु भोलिदेखि नै लकडाउन हुनेभएपछि पुनः फर्किन मानेका छैनन् । यस्तै काठमाडौंमै भएका गाडीहरु पनि बिहानसम्म पुरै प्याक भईसकेका छन् ।
‘यसपाली प्राय नागरिकहरु डराएर होला दशैं तिहारको तुलनामा दोब्बर मानिसहरु काठमाडौं छोडेर जाँदैछन्,’ उनले भने, ‘हालसम्म जति काठमाडौं छोडेर गए गए, तर, अब गाडीको कमीका कारण बचेकाहरु फर्किन सक्ने सम्भावना छैन ।’
यसरी बसपार्कमा मानिसहरु टनाटन भरिने प्राय दशैंमा मात्रै हो । तर, विश्वभरसँगै नेपालमा कोरोना संक्रमण फैलिएपछि कोरोनाका कारण प्रभावित यातायात व्यवसायीलाई यस्तो दशैं ३ पटकसम्म लागेको छ । यात्रुहरु दशैंमा घर जाँदा एक बर्षभर कमाउनेभन्दा बढि कमाउने यातायात व्यवसायीहरुले पछिल्लो बर्ष भने यसैगरी ३ पटक कमाए । अर्थात पहिलो लकडाउनताका एकचोटी कमाएका व्यवसायीले दशैमा पनि उसैगरी कमाए ।
यस्तै पुनः लकडाउनको घोषणा हुँदा यसपटक पनि दशैंको भन्दा राम्रो कमाई भएको एक व्यवसायीले जानकारी दिए । नाम नखुलाउने शर्तमा उनले भने, ‘हामीलाई त कोरोना फाप्यो, टनाटन कमाई भएकै छ तर, लकडाउन भएपछि भने गाडी ठप्प हुने हुँदा चिन्ता भने लाग्छ, त्यो चिन्तालाई पनि भगाउने गरी लकडाउन अगाडि कमाउन पाईन्छ ।’
यता यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गर्ने जानकारी दिएको छ । महासंघले एक विज्ञप्ति जारी गरेर लकडाउनमाा सार्वजनिक यातायातहरु सुचारु नै राख्नुपर्ने जिकिर गरेको छ । तर, सरकारले महामारी फैलाउन सबैभन्दा ठूलो भुमिका सार्वजनिक यातायातको हुने ठहर गर्दै कहिले जोरविजोर, कहिले यातायात बन्दको घोषणा गर्दै आएको छ ।