Logo

लकडाउनमा बिरामी बोक्न निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्दै कामपा, गुनासो सुन्न टोल फ्रि नम्बर राखिँदै

लकडाउनमा बिरामी बोक्न निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्दै कामपा, गुनासो सुन्न टोल फ्रि नम्बर राखिँदै



काठमाडौँ । काठमाडौं महानगरपालिक (कामपा)ले कोविड १९ का पोजेटिभ बिरामी र अन्य विरामीलाई अस्पताल लैजान ल्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासनबाट जारी आदेशका समयमा अस्पताल जान आउन समस्या पर्ने भन्दै कामपाले यस्तो व्यवस्था गर्न लागेको हो । कोविड १९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार बोलाइएको विशेष कार्यपालिका बैठकका निर्णयका बारेमा जानकारी दिँदै बैठकका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो बताएका हुन् ।

‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोविड पोजेटिभ भएका विरामीलाई निःशुल्क अस्पताल पुर्याउने छन् । यसबाहेक अन्य समस्या भएका विरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेछौँ । एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । यसबाट डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानु पर्ने व्यक्तिको अस्पताल पुग्न र आउन सवारीको समस्या समाधान हुनेछ ।’ प्रमुख शाक्यले भने, उपचार गर्न जानु पर्ने विरामीलाई सवारी पासको व्यवस्था गर्दा व्यवस्थापकीय समस्या हुने भएकाले एम्बुलेन्स सेवासँगको सहकार्यमा सेवा दिन लागिएको हो । यसप्रकारको सेवा गएको बर्षको बन्दाबन्दीका समयमा पनि दिइएको थियो ।’

यसका लागि महानगरले एम्बुलेन्स सञ्चालनसँग सम्बन्धित पदाधिकारीसँग सम्झौता गर्नेछ । एम्बुलेन्स सञ्चालन गर्दा लाग्ने खर्च महानगरले व्यहार्नेछ ।

राहत वितरण गर्ने र खाना खुवाउने काम तत्काल आवश्यक नरहेको बैठकले निष्कर्ष निकालेको छ । विगत बर्ष बन्दाबन्दीका समयमा बाँडिएको राहत र खुवाइएको खाना कार्यक्रमको विश्लेषण गर्दै बैठकले संक्रमणको अवस्था हेरेर आवश्यक परे पछि छलफल गर्ने गरी अहिलेलाई राहत बाँड्ने र खाना खुवाउने काम नगर्ने निर्णय गरेको हो ।

नागरिकका समस्या सुनुवाई गरेर समाधान गर्न टोल फ्रि नं. ११८० लाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदाय स्तरमा सचेतनाका बढाउन शिक्षकहरु परिचालन गर्ने, जोखिमयुक्त स्थानहरुमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र (लेवल १) स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।

कोविड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई १ लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० लाख रुपैयाँ निकासा पठाउने निर्णय भएको छ ।
बैठकमा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, रामकुमार के. सी., मचाराजा महर्जन, शुद्धकुमार डंगोल र कार्यपालिका सदस्यहरु लक्ष्मी श्रेष्ठ र हीरादेवी पोखरेलले वडास्तरीय समस्याका बारेमा धारणा राखेका थिए ।

कोविड भएका विरामी र परिवार संक्रमणका बारेमा भएको कुरा लुकाउँछन् । पोजेटिभ थियो, निको भइ सक्यो भन्छन् । यस्तो बेला एकिन तथ्याङ्क कसरी लिने? प्रश्न राख्दै उनिहरुले कोविड संक्रमणको वास्तविक चित्र निकाल्न कठिन भएको बताए ।

वडास्तरीय विपद व्यवस्थापन समितिको परिचालन, अहिले जनगणनाको काम भइरहेकोले गणकहरुमार्फत सरकारका सूचना जनताका दैलामा लैजाने र कोविड सम्बन्धि तथ्याङ्क लिन सकिनेमा ध्यान जानु पर्ने, मानवीय सहयोगका काममा सहज हुने निर्णय गर्नुपर्नेलगायत सुझाव राखेका थिए ।

वैठक सुरु हुनअघि जनस्वास्थ्य विभागले विश्वमा दोस्रो चरणमा फैलिएको कोविडको असर, नेपाल र काठमाडौँको महामारीको वृद्धिदर, रोग नियन्त्रणका लागि विभागका कार्यक्रमका बारे प्रस्तुतिकरण गरेको थियो । साझा प्रयासले मात्र महामारी नियन्त्रण सम्भव हुने बताउँदै त्यस क्रममा विभागका प्रमुख हरिबहादुर कुँवरले व्यक्ति व्यक्तिको आचरणसँग जोडिएकोले महामारी रोक्न हरेक व्यक्तिमा इमान्दारिता र नैतिकता हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
MBL