Logo

शंखपार्कमा खुल्ला शारीरिक व्यायाम स्थल बन्यो, मेयर शाक्यले गरे शुभारम्भ

शंखपार्कमा खुल्ला शारीरिक व्यायाम स्थल बन्यो, मेयर शाक्यले गरे शुभारम्भ



काठमाडौं । शंखपार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज महानगरको वडा ४ स्थित शंखपार्कमा वाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् ।

शुभारम्भपछि बोल्दै प्रमुख शाक्यले यी उपकरणको प्रयोग गर्ने उपभोक्ताबाट आएको प्रतिक्रिका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताए ।

‘हामी सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने र पार्कमा बहुउपयोगी बनाउने योजनाअनुसार काम गरिरहेका छौँ । यसको प्रयोगकर्ताबाट प्राप्त हुने सुझावका आधारमा अन्य पार्कमा पनि सेवा विस्तार गर्नेछौँ,’ उनले भने ।

‘अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको छ । यसलाई अझै बढाउनु पर्छ,’ प्रमुख शाक्यको भनाइ थियो ।

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पार्क संस्कार जोगाउन सके सामाजिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताइन् । ‘हामी योजनाबद्ध रुपमा पार्क निर्माण गरिरहेका छौँ । व्यवस्थित पार्कले स्थानीयको शारीरिक र मानसिक स्वास्थ्यलाई ठीक बनाउँछ, यी उपकरणको प्रयोग यसकालागि गरिनु पर्छ,’ उनको भनाइ थियो ।

जडान गरिएका सामानको प्रयोग गर्दै वडाध्यक्ष मोहनबहादुर विष्टले, वडाका अन्य पार्कमा पनि सामान जडान गर्ने सोच सुनाए । ‘सहरी आचरणलाई स्वस्थ्य बनाउन पनि यसप्रकारका सुविधा आवश्यक छन्,’ विष्टको भनाइ थियो ।

अहिले व्यायामकालागि करीब ८ लाख रुपैयाँबराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एव्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टरलगायत छन् ।

खुल्ला ठाउँमा राखिएका सामानको गुणस्तरीयका विषयमा ग्रीन वकर्सका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायले यहाँ जडान गरिएको सामान तथा उपकरण विश्वका विकसित मुलुकमा प्रयोग भइसकेको उल्लेख गरे ।

‘जीएसटीयुभी सर्टिफाइड फुल ग्याल्बनाइज्य र खिया नलाग्ने सामानको प्रयोग गरिएकोले खुल्ला स्थान राखेर कुनै समस्या हुँदैन । यी सामान छुँदा छाला चिलाउने तथा एलर्जी हुने जस्ता समस्या हुँदैनन्,’ उपाध्यायको भनाइ छ । यी सामान तथा उपकरण हरेक उमेर र तौल भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL