Logo

प्रधानमन्त्रीद्वारा धरहराको उद्घाटन, पुनर्निर्माण सम्पन्न गर्न भने मंसिरसम्म लाग्ने

प्रधानमन्त्रीद्वारा धरहराको उद्घाटन, पुनर्निर्माण सम्पन्न गर्न भने मंसिरसम्म लाग्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार २०७२ को भूकम्पले ढालेको पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने नसकिएको बताइएको छ ।

भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ। धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ ।

नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ ।

यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरा समेत बन्ने छ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL