Logo

चीनलाई सहयोग गरेको नेपालले ९ महिनामा आयात गर्याे ५६ करोड बराबरको मास्क, कति गर्याे निर्यात ?

चीनलाई सहयोग गरेको नेपालले ९ महिनामा आयात गर्याे ५६ करोड बराबरको मास्क, कति गर्याे निर्यात ?



काठमाडौं । अघिल्लो बर्षको माघमा चीनमा कोरोना भाईरसको महामारी उत्कर्षमा पुगेको भन्दै नेपाल सरकारले चीनलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको थियो । मन्त्रीपरिषद बैठकले निर्णय गर्दै उक्त मास्कहरु चीनलाई हस्तान्तरण गरिएको थियो ।

यसरी विश्वकै शक्तिशाली राष्ट्रको दोस्रो स्थानमा पर्ने चीनलाई मास्क सहयोग गरेको नेपालले चालु आवको पछिल्लो ९ महिनामा भने आधा अर्ब बढिको मास्क आयात गरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले अफगानिस्तान, अष्ट्रेलिया, अष्ट्रियालगायत ४० बढि देशबाट पछिल्लो ९ महिनामा यस्ता फेस मास्क आयात गरेको हो । विभागका अनुसार ९ महिनामा नेपालले ७ करोड ५७ लाख ११ हजार रुपैयाँ बराबरको मास्क किलोको हिसावमा र ४८ करोड ५६ लाख ८० हजार रुपैयाँ बराबरको मास्म पीसको आधारमा भित्र्याएको हो । जसमा २७ हजार १ सय ७१ किलो मास्क किलोको हिसावमा र १० करोड ३९ लाख ३६ हजार बढि मास्क पीसको हिसावमा छुट्टै ल्याएको हो ।
यस अवधिमा नेपालले सबैभन्दा बढि मास्क चीनबाट ल्याएको छ । तथ्यांक अनुसार नेपालले पछिल्लो ९ महिनामा चीनबाट मात्रै ४२ करोड बढिको फेस मास्क आयात गरेको हो ।

यस्तै नेपालले धेरै फेस मास्क आयात गरेका देशहरुमा क्रमशः भारत, अफगानिस्तान, फ्रान्स, जर्मनी लगायतका देशहरु परेका छन् ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण विश्वभर नै फेस मास्कको व्यापारमा उच्च वृद्धि भएको देखिन्छ । यसरी विश्वभर नै यसको विक्री वितरणमा उल्लेख्य वृद्धि भएपनि नेपालमा पनि यसको असर परेको देखिन्छ । गत बर्षको सोही अवधिमा भने नेपालले यस्तो फेस मास्कहरु फेस मास्कको नामबाट आयात नगरेको देखिएको छ ।

तर चालु आवको ९ महिनामा नेपालले पनि यस्ता फेस मास्क केही हदसम्म निर्यात समेत गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले यस अवधिमा ४ करोड १४ लाख ६८ हजार रुपैयाँ बराबरको फेस मास्क निर्यात गरेको छ । विभागका अुनसार विभागले उक्त पैसा बराबरको १ सय ६० किलो र ८ लाख ९७ हजार ४ सय ८७ पीस मास्क नेपाल बाहिर पठाएको हो ।

यसरी नेपालको फेस मास्क आयात गर्ने देशहरुमा भुटान, फ्रान्स, जर्मनी, भारत, जापान, सिंगापुरलगायतका देशहरु परेका छन् । यस अवधिमा सबैभन्दा बढि फेस मास्क नेपालबाट अमेरिकाले लिएको छ । विभागको तथ्यांक अनुसार पछिल्लो ९ महिनामा अमेरिकामा मात्रै २ करोड ९७ लाख रुपैयाँ बराबरको ५ लाख ७९ हजार बढि पीस मास्क निर्यात भएको छ । यस्तै नेपालको मास्क धेरै आयात गर्नेमा दोस्रो मुलुक भने जापान परेको छ । यस अवधिमा जापानले नेपालबाट १ करोड रुपैयाँ बढिको ३ लाख बढि पीस मास्क आयात गरेको हो । यस्तै नेपालको मास्क धेरै प्रयोग गर्नेमा क्रमशः भुटान, भारत, जर्मनीलगायतका देशहरु परेका छन् ।

पछिल्लो एक अध्ययनले विश्वभर फेस मास्कको मार्केट बढेको देखएको छ । अध्ययन अनुसार आगामी ६ बर्षमा फेसमास्कको विश्व बजार ३१ दशमलव ८३ विलियन डलरको पुग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL