Logo

सवारी लाइसेन्सका लागि दैनिक ट्रायल दिनेको संख्या बढाइदैं, १ बर्षपछि पालो परेकाको ६ महिनामै पालो आउनसक्ने

सवारी लाइसेन्सका लागि दैनिक ट्रायल दिनेको संख्या बढाइदैं, १ बर्षपछि पालो परेकाको ६ महिनामै पालो आउनसक्ने



काठमाडौं । काठमाडौंको बसुन्धारामा बसोबास गर्दै आएका भवेस निरौलाले गत सोमबार मोटरसाइकलका लागि भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन भरे । मोबाइलबाट अनलाइन आवेदन दिएका निरौलाले फर्म भरिसकेपछि उनको मोबाइलमा एउटा नोटिफिकेसन आयो । जसमा भनिएको थियो ‘परिक्षाका लागि राजस्व बुझाउन यातायात कार्यालय पुग्नुपर्ने मिति आगामी बर्षको बैशाखमा तोकिएको छ ।’

अर्थात सोमबार मात्रै अनलाइन आवेदन दिएका उनले लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल)का लागि १५ महिना बढी कुर्नुपर्ने देखियो । यस्तै समस्या टोखा निवासी नवीन भट्टराईको पनि छ । उनले पनि सोमबार नै लाइसेन्सका लागि अनलाइन आवेदन भर्दा उनको कार्यालय भिजिट गर्ने डेट आगामी बर्षको बैशाख २६ गते देखायो । प्रयोगात्मक परिक्षाका लागि भन्दै ३ महिना अघि देखि मोटरसाइकल सिकेका उनलाई आगामी बर्षको बैशाखसम्म सिकेको पनि बिर्सिन्छ कि भन्ने डर छ ।

यातायात व्यवस्था विभागले गत पुसदेखि आफ्नो सिष्टममा अनलिमिटेड आवेदन लिन पाइने सुविधा ल्याएपछि आवेदनकर्ताको संख्या दिनानुदिन बढ्दो छ । यसरी आवेदनकर्ताको संख्या बढ्दा कार्यालय भिजिट गर्ने मिति पनि सोहीअनुसार धकेलिँदै जान्छ ।

विभागका प्रवक्ता डा लोकनाथ भुषालका अनुसार गत सोमबारसम्म ७ लाख बढीले लाइसेन्स आवेदन भरेका छन् । यसरी दैनिकजसो २० देखि ३० हजार बढीले अनलाईनमार्फत लाईसेन्सको आवेदन भर्दा कार्यालय भिजिट गर्ने मिति पनि सोहीअनुसार थपिँदै जाने उनको भनाई छ । हाल नेपालभर १९ यातायात कार्यालयहरुले दैनिक ५ हजार जनाको परिक्षालगायत ट्रायलसमेत लिने गरेका छन् ।

यसरी ट्रायल दिन सकिने संख्या र आवेदनको संख्यालाई हिसाव गरेर कार्यालय भिजिट गर्ने मिति निकालिने विभागका महानिर्देशन नमराज घिमिरेले जानकारी दिए । तर अव यातायात कार्यालयहरुले ट्रायल दिन सकिने संख्यालाई बढाउने बताएका छन् । यसरी दैनिक ट्रायल दिनेको संख्या बढ्दा लाइसेन्सका लागि अनलाईन आवेदन दिनेको कार्यालय भिजिट गर्ने समय पनि हेरफेर हुने महानिर्देशक घिमिरेले बिजखबरलाई जानकारी दिए ।

‘हामीलाई यातायात कार्यालयहरुले ट्रायलको संख्या बढाउन सकिने बताउनुभएको छ,’ उनले भने, ‘ट्रायलको संख्या बढेसँगै आवेदन कर्ताले पनि ट्रायल दिनका लागि १ बर्षसम्म कुर्नुपर्ने छैन ।’

उनले हाल आवेदनकर्ताको कार्यालय भिजिट गर्ने मिति छोट्याउने सफ्टवेयर कम्पनीसँग कुरा भइरहेको समेत जानकारी दिएका छन् । सफ्टवेयर कम्पनीले आवेदनकर्तालाई १ बर्षसम्मको मिति देखाउने सिस्टमलाई परिवर्तन गरेर समय छोट्याउने उनको भनाई छ ।

यसरी आवेदन कर्ताको कार्यालय भिजिट गर्ने डेट छोट्याउँदा १ बर्षको समय ४ देखि ६ महिनामा छोटिनसक्ने उनको भनाई छ । तर, काठमाडौं उपत्यकाको हकमा मात्रै यति लामो समय कुर्नुपर्ने भएपछि बाहिरका कार्यालयहरुमा लामो समय कुर्नु नपर्ने विभागका प्रवक्ता लोकनाथ भुषाल बताउँछन् । उनका अनुसार काठमाडौं बाहिरका कार्यालयहरुबाट लाईसेन्सको फारम भर्ने सेवाग्राहीको संख्या कम भएकाले पालो पनि त्यति नै छिटो आउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL