Logo

काठमाडौंलगायत देशभर शहर सौन्दर्यकरणको काम हुँदैं, नेपालका शहरपनि बन्लान बिदेशका जस्तै चिटिक्क ?

काठमाडौंलगायत देशभर शहर सौन्दर्यकरणको काम हुँदैं, नेपालका शहरपनि बन्लान बिदेशका जस्तै चिटिक्क ?



काठमाडौं । पछिल्लो समय नेपालमा पनि शहरी सौन्र्दयको चर्चा हुन थालेको छ । बिदेश घुमेर आएका हुन वा भिडियो वा तस्वीरमै देखेकाहरु पनि हाम्रा अव्यवस्थित शहर देखेर नाक खुम्च्याउँछन् । सबैलाई नेपालका शहर पनि बिदेशमा जस्तै चिटिक्क भइदिए हुन्थ्यो मनमा हुन्छ नै । यस्तोमा नेपालमा पनि अब शहर चिटिक्क पार्ने गरि शहर सौन्र्दयीकरणका विभिन्न योजना अघि बढेका छन् ।

शहरी सौन्दर्र्यीकरणको पहिलो कामका रुपमा अहिले संघीय राजधानी शहर काठमाडौंबाट शहरी सौन्दर्यकरणमा अवरोध बनेका गुजुल्टिएका तार व्यवस्थित गर्ने काम शुरु भएको छ । देशका प्रमुख शहरहरुको स्वरुप शहरैभर जताततै फैलाइएका तार र पोलमा रहेका तारका गुजुल्टाले विगारेको भन्दै तार व्यवस्थापनको काम शुरु भएको छ ।

शहर अव्यवस्थित र कुरुप देखाउने यस्ता तारहरुको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो केही समयदेखि काम गरिरहेका छन् । शहरको सुन्दरतालाई उच्च बनाउन जथाभावी तारहरु व्यवस्थित गर्न विद्युत प्राधिकरणले विजुलीका तारहरुलाई भूमिगत गर्ने काम अघि बढाएको छ । जसका लागि हाल काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत बढीे काम भइसकेको प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिना सुरक्षा र शहरको सौन्दर्य बढाउने योजना अनुरुप विजुलीका तार भूमिगत गर्ने कार्य भइरहेको बताउँछन् । विद्युत केवल भूमिगतको काम गर्दा भविष्यलाई समेत मध्यनजर गर्दै २ देखि ३ ओटा डक खाली छोडेर बाँकी डकमा विजुलीको तार राखिएको उनले बताए । खाली छोडिएका डकहरु अन्य दूरसंचार सेवाप्रदायक, इन्टरनेट, टेलिभिजनहरुले आफ्नो केबलका लागि उपयोग गर्न सक्ने तिमिल्सिना बताउँछन् ।

विजुलीका तारले मात्रै नभई टेलिभिजन, फोन, इन्टरनेटलगायतका तारका कारण पनि शहरको सुन्दरता हराएको भन्दै यस्ता सेवाप्रदायकले पनि चाहेको अवस्थामा प्राधिकरणकै डकमार्फत आफ्नो नेटवर्क विस्तार गर्न सकिनेगरी निर्माण गरिएको छ । उपत्यकाका हरेक क्षेत्रमा भूमिगत लाईन पुर्याउने लक्ष्य लिएको प्राधिकरणले आगामी दिनमा नेपालभर यो कार्यलाई बिस्तार गर्ने जानकारी दिएको छ । जसमार्फत काठमाडौंलगायत अन्य क्षेत्रमा समेत शहर सुन्दर देखिनेछन् ।

हाल इन्टरनेट, टेलिभिजन, टेलिफोन सेवाप्रदायकले प्राधिकरणको विजुलीको पोल प्रयोग गरेर आफ्नो सेवा बिस्तार गर्ने गरेका छन् । प्राधिकरणले पोल प्रयोग गरेवापत अन्य कम्पनीहरुसाग निश्चित भाडा लिने गरेको छ । प्राधिकरणले तार भूमिगत गर्दै पोल हटाएपछि अन्य कम्पनी पनि स्वतः तार भूमिगत गर्न बाध्य हुनेछन् । जसले शहरका पोलमा अहिले देखिएको तारको अव्यवस्था र खतरा कम हुनेछ ।

यस्तै नेपाल दूरसंचार प्राधिकरणले पनि इन्टरनेटसँगै दूरसंचार सेवा प्रदायक कम्पनीहरुले सडकका पोलहरुमा झुण्ड्याएका अव्यवस्थित तारहरु व्यवस्थित गर्न ताकेता गरिरहेको जानकारी दिएको छ । यसका लागि प्राधिकरणले आफै एक परामर्शदाता कम्पनी छनोट गरी तार भूमिगत गर्ने कार्य पनि अघि बढाएको थियो । प्राधिकरणले कुनै एक कम्पनीको पूर्वाधार अन्य कम्पनीले प्रयोग गर्न सकिने गरी निर्देशिका पनि बनाइसकेको छ । जसमार्फत एउटै कम्पनीको पूर्वाधार धेरै सेवाप्रदायकले उपयोग गरेर सेवा विस्तार गर्न सकिने छ । तर, सेवाप्रदायक हरुले अहिलेसम्म यसमा काम अघि बढाएका छैनन् । सेवाप्रदायकहरुको प्रतिस्पर्धाका कारण आफैं पूर्वाधार बिस्तार गर्ने होडका कारण समस्या आएको देखिन्छ ।

सबै कम्पनीहरुले आफ्नै पूर्वाधा विस्तार गर्दा शहर नै कुरुप भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । तर, नेपाल टेलिकमले भने आफ्नो पूर्वाधार अन्य कुनै कम्पनीले चाहेको खण्डमा प्रयोग गर्न सक्नेगरी निर्णय गरिसकेको छ । जसमार्फत कम्पनीले अन्डरग्राउण्ड गरेको अप्टिकल फाइबर अन्य कम्पनीले पनि चाहेको खण्डमा प्रयोग गर्न पाउने छन् ।

कम्पनीको अन्डरग्राउन्ड अप्टिकल फाईबर अन्य कम्पनीले पनि प्रयोग गरेको अवस्थामा पोलमा रहेका तार केही हदसम्म भएपनि घटने आँकलन गरिएको छ । टेलिकमले उक्त निर्णय थप विषय तय हुन भने बाँकी रहेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । ‘ पूर्वाधार उपयोग गर्न दिदा कति भाडा लिने, कसरी प्रयोग गर्न दिनेलगायतका विभिन्न निर्णय हुन बाँकी छ । दूरसंचार प्राधिकरणको निर्देशन अनुसार पूर्वाधार सहप्रयोगको बाटो खुलाइएकाले अब निर्णय गरेर अगाढि बढछौं’, जोशी भन्छन ।

नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले तयार पारेका भूमिगत पूर्वाधार तथा संरचना अन्य कम्पनीहरुका लागि खुला भएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तार भूमिगत गने इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधीर पराजुली बताउँछन् । ‘यसका लागि आवश्यक भाडा, प्रयोगको ढाँचालगायतका विषयहरु तय भएपछि हामी पनि काम अघि बढाउँछौं’, पराजुलीले भने ।

पराजुलीका अनुसार पछिल्लो समय केवल इन्टरनेट सेवाप्रदायकले पनि विभिन्न समयमा तार व्यवस्थित गर्ने काम गरिरहेका छन् । तर, सरकारले भूमिगतमै जानुपर्छ भनेको खण्डमा आफुहरु तयार हुने उनको जिकिर छ । अहिले शहरमा यताउता तानिएका तार र पोल हटाउने हो भने शहरको सुन्दरता यतिकै पनि बढने शहरी विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL