Logo

मध्यपहाडी लोकमार्गले ग्रामीण भेगमा विकासको क्रान्ति ल्याएको छ : गोपीकृष्ण भण्डारीको अन्तरवार्ता

मध्यपहाडी लोकमार्गले ग्रामीण भेगमा विकासको क्रान्ति ल्याएको छ : गोपीकृष्ण भण्डारीको अन्तरवार्ता



पूर्व पश्चिम जोड्ने १७ सय ६५ मिलोमिटर लामो मध्यपहाडी लोकमार्ग निर्माण चरणमै छ । धेरै स्थानमा ट्र्याक खोलिएको उक्त लोकमार्गकै कारण पनि धेरै स्थानीय तहको जनजिवन नै परिवर्तन भएको छ । यसै विषयमा रहेर पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ का अध्यक्ष गोपीकृष्ण भण्डारीसँग गरिएको अन्तरवार्ताको सार :

तपाईंको वडामा विकासको रफ्तार कस्तो छ ? नयाँ परियोजना के–के सञ्चालनमा छन् ?

पालिकामा पर्ने हिलिहाङ दरबार संग्रहालय दुई करोड पचास लाखको लागतमा निर्माण गर्दै छौँ । यो निर्माणको अन्तिम चरणमा पुगेको छ । हिलिहाङ दरबारलाई प्यागोडा शैलीमा निर्माण गर्न पाँच करोड रुपैयाँ विनियोजन गरेका छौँ । सडकको कुरा गर्दा वडा नम्बर १ बाटै मध्यपहाडी लोकमार्ग गएको छ । अहिले ट्रयाक खोलिसकिएको छ भने तमोर करिडोरमा त्यो सडक जोडिएको छ ।

मध्यपहाडी लोकमार्गको कुरा गरिरहँदा उक्त सडकले तपाईंको वडाका साथै समग्र पालिकाको विकासमा कस्तो प्रभाव पारेको छ ?

हाम्रो पालिकाको वडा नम्बर १, ४ र ५ हुँदै तमोर करिडोरमा गएर जोडिएको मध्यपहाडी लोकमार्ग हाम्रा लागि वरदान सावित भएको छ । धरान, विराटनगर जान ७ घन्टा लाग्ने गरेकामा अहिले ३ घन्टामा सजिलैसँग धरान पुग्न सक्छौँ । यसले पालिकामा रहेका पर्यटकीय क्षेत्रमा पनि प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छौँ । यो सडकले पालिकाभित्र पर्ने हिलिहाङ दरबार, जोर पोखरीजस्ता ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल अब आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यमा पर्नेमा आशावादी छौँ ।

पालिकाबासीको समग्र आर्थिक तथा सामाजिक क्षेत्रमा यो सडकले कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

यसको प्रभाव राम्रौ देख्छु । स्थानीय तहको बिकाश तथा प्रगतिको आधार भनेको पूर्वाधार बिकाश हो । यही सडककै कारण यहाँका स्थानीयले दुई–चार रुपैयाँ आम्दानी गर्न थालेका छन् । सडक छेउछाउ होटल, पसल खुल्न थालेका छन् । सामान्य उपचारका लागि पनि घन्टौँको यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई यही सडकले अन्त्य गरिदिएको छ ।

यो सडक बनाउँदा जनशक्तिदेखि निर्माण सामग्री पनि सोही ठाउँकै प्रयोग गरिएको भनिएको थियो । साँच्चै हो ?

हो । हाम्रो पालिकामा रहेका दक्ष जनशक्तिले यसै परियोजनामा रोजगारी पाएका हुन् । स्थानीय स्तरमै रहेका ढुंगा, गिटी, बालुवाजस्ता निर्माण सामग्री पनि यो परियोजनामा प्रयोग भए, भइरहेका छन् । यसले एकातिर पालिकाबासीले रोजगारीको अवसर प्राप्त गरे भने अर्कोतर्फ पालिकाले पनि आम्दानी गर्न पायो ।

ठूला परियोजना पालिकामा आइरहँदा जिम्मेवार निकायमा रहेका तपाईँजस्ता जनप्रतिनिधिको पहल कस्तो हुनुपर्छ जस्तो लाग्छ ?


हाम्रो सहयोग/असहयोग भन्दा पनि कस्तो परियोजना आउँदै छ भन्ने कुराले बढी महत्व राख्छ । हाम्रै लागि र हाम्रै पालिकाको विकास गर्न आएका परियोजनालाई हामी स्वागतै गर्छौं ।

पूर्वाधारका काममा स्थानीय जनशक्तिको दक्षता कस्तो पाउनुभयो ?

छन् नि । स्थानीय तहमा अन्य कुनै परियोजना आए हाम्रै जनशक्तिले नै परियोजना सम्पन्न गर्न सकिन्छ । हामीले बेलाबेला निर्माण अनुगमन पनि गरिरहेका छौं । काम हेर्दा त दक्ष जनशक्तिले नै गरेको अनुभव भएको छ ।

तपाईंलाई पछिल्लो समय प्राविधिक क्षेत्रमा नेपालका निर्माण व्यवसायी अब्बल बन्दै गएजस्तो लागेको हो ?

पहिलेका निर्माण क्षेत्रमा गरिने काम र अहिले गर्ने काममा निकै फरक छ । सबैले राम्रा–राम्रा र अत्याधुनिक मेसिन प्रयोग गर्न थालेका छन् । सडक सम्याउनदेखि कालोपत्रे गर्ने काममा सबै मेसिन प्रयोग हुने गरेको देखेको छु । जेहोस्, जेसीबी , दूसान साथै अन्य नयाँ–नयाँ प्रविधि र नेपालमा भित्रिएका आधुनिक मेसिनले नेपालको निर्माण क्षेत्र अब्बल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL