काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक गतिविधिको विस्तारका लागि सबै स्थानीय तहहरुले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिन आग्रह गरका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको १०औँ अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय तह र निजी क्षेत्रबीच व्यावसायिक पार्टनरशीप गरेर अगाडि बढ्न सकेमात्र स्थानीय तहमा प्रयाप्त मात्रामा रोजगारी सृजना हुने, राजश्व तथा कर संकलन हुने बताए ।
‘स्थानीय तहहरुले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रुपमा लिन सकेमात्र व्यावसायिक गतिविधिहरु विस्तार गर्न सहज हुन्छ, स्थानीय स्तरमा रोजगारी सृजना हुन्छ, राजश्व तथा कर संकलन हुन्छ,’ उनले भने, ‘व्यावसायिक वातावरण बनाउन सहजीकरण गरेर निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनसकेमात्र व्यावसायिक गतिविधिहरु विस्तार गर्न सकिनेछ र मुलुकमा विकास र सम्मृद्धि आउनेछ ।’
भूकम्पपछि सिन्धुपाल्चोक नाकाबाट हुने व्यापारमा कमी आएको बताउँदै उनले अहिले सिन्धुपाल्चोक नाकाबाट हुने व्यापार बढाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूलले पहल गर्ने बताए।
उनले अहिले एकल अंकमा आएको बैंकको ब्याजदरलाई सदुपयोग गरी व्यावसायिक गतिविधिहरुलाई विस्तार गर्न जिल्ला उद्योग वाणिज्य संघ तथा स्थानीय व्यवसायीहरुलाई आह्वान समेत गरे।
‘हामीले लामो प्रयासपछि अहिले बैंकको ब्याजदरलाई एकल अंकमा ल्याउन सफल भएका छौं । यसमा नेपाल उद्योग वाणिज्य महासंघको निकै ठूलो र महत्वपूर्ण भूमिका रहेको छ । एकल अंकको ब्याजदरलाई सदुपयोग गरी व्यावसायिक गतिविधिहरु विस्तार गर्नुस् । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष, एउटा बैंकको अध्यक्ष तथा एउटा व्यवसायीको नाताले मैले गर्ने सहयोग र सहकार्य तपाईहरुसँग हुनेनै छ,’ उनले भने ।
नेपाल सरकार अहिले आगामि आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणको तयारी र छलफलमा रहेको बताउँदै बजेट बनाउँदा बजेटमा नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट दिने सुझाव तथा सल्लाहका लागि स्थानीय व्यवसायीहरुलाई आग्रह समेत गरे ।
साथै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले भूकम्प, बाढिपहिरो लगायत विभिन्न प्राकृतिक विपत्तिहरुमा पीडितको राहत, उद्धार तथा जिविकोपार्जनमा खेलेको भूमिकाको प्रसंशा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्ता सामाजिक गतिविधिहरुले व्यवसायीहरुको समाजप्रतिको उत्तरदायित्व र योगदान पनि देखिने बताए