Logo

माथिल्लो तामाकोशी आयोजना : बैशाखभित्रै ७६ मेगावाट र भदौदेखि पूर्णक्षमतामा विद्युत उत्पादन शुरु हुने

माथिल्लो तामाकोशी आयोजना : बैशाखभित्रै ७६ मेगावाट र भदौदेखि पूर्णक्षमतामा विद्युत उत्पादन शुरु हुने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट बैशाख महिनाभित्रै विद्युत उत्पादन शुरु हुने एको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराए । पहिलो युनिटबाट बैशाख भित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको उनले बताए । उनले भने –‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा बैसाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने बताए । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए । उहाँले भन्नुभयो ‘हामी बैशाख भित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौ सम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौं ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शुरु गर्ने रहेपनि बैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको बताए । बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिन पछि विद्युत उत्पादन शुरु हुँदा बैशाख ३१ गते सम्भव हुने बताए । उनले भने ‘बैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन शुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्वीच गरेर बैशाख ३१ गते आशा गर्दैछौं । तर, अहिलेको तालिका अनुसार जेठ २ गते भनेर गरेका छौं । त्यस हिसाबले पहिलो युनिट आइसकेपछाडि असार मसान्त सम्म चारवटा युनिट आउँछ र साउन मसान्त सम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ ।’

आयोजनाको काममा ढिलाई भएको भन्ने भएपछि आफू एक दुई दिन अघिमात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए । साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन शुरु भइसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL