नेपालमा राणा शासन अर्थात २००७ साल भन्दा पहिला कुनै पनि व्यवसायिक संघसंस्था खुलेका थिएनन् । तर व्यापार गर्न एकदमै सहज र सुविधा थियो । तत्कालिन समयमा भक्तपुरमा बाहिरबाट सामान आयात गरेर विक्री गर्ने हाम्रो परिवारको मात्र फर्म थियो भने काठमाडौंमा पनि २÷४ जना व्यापारीले मात्रै सामान आयात गरेर बिक्री गर्दथे । मेरा बुबा स्वर्गीय रामभक्त साखःले कृष्णलाल रामभक्त फर्मको नाममा विदेशबाट सामान आयात गरेर बिक्री गर्नुहुन्थ्यो । त्यतिवेला भारत, सिंगापुर, जापान, वेलायतजस्ता देशहरुबाट सामाय आयात गरेर बिक्री गथ्र्यौ । तर तत्कालिन समयमा सिंगापुर जापानजस्ता मुलुकबाट कसरी सामान ल्याएर बिक्री गरिन्छ भन्ने वारे म आफै पनि अचम्मित थिए । तर मेरो बुबाले कलकोत्ताको साहुसँगको सम्पर्कमा कालकोत्ताको साहूले त्यस्ता देशबाट आयात गर्ने सामानको केही हिस्सा नेपालमा ल्याएर बिक्री गर्नुहुन्थ्यो । तत्कालिन समयमा कलकोता पोर्टमा ‘बी फर्म’ बनाउनुपर्ने व्यवस्था थियो । उदाहरणका लागि कलकोत्ताको साहुले १ सय बण्डल सामान मगायो भने १० बण्डल चाहिँ नेपालीलाई दियो भने बी फर्म भरेर दिनुपर्दथ्यो ।
भारतबाट आयात गरिएको सामान रक्सौलमा आउथ्यो । त्यहाँबाट हाम्रो मान्छेले सामान छुटाएर अम्लेखगञ्जसम्म रेलमा पठाउँथे । त्यहाँबाट रोपवेमार्फत काठमाडौं सामान भित्रिन्थ्यो । रोपवे स्टेशनमा झरेको सामान ट्रलीमा राखेर टेकु भन्सारमा आईपुग्थ्यो र त्यहिँबाट हामीले सामान बुझ्थ्यौं । तत्कालिन समयमा हप्ताको एक पटक तत्कालिन व्रिटिस एम्वेसी हालको भारतीय दूतावसले सामान छुटाउन सहमति दिन्थ्यो । तत्कालिन समयमा दर्ता वाला व्यवसायीलाई ३२ कोटी महाजन भनिन्थ्यो । उनीहरुले मालसामान छुटाउँदा भन्सार तिर्नु पर्दैन्थ्यो । व्यवसायीले बर्षको १ पटक मंसिर महिनामा एक पटक भंसार तिरे पुग्थ्यो । व्यवसायीलाई एकदमै ठूलो सम्मान दिईन्थ्यो ।
तत्कालिन समयमा बैंक समेत थिएन । मालसामान आयात गर्दा अहिलेको जस्तो एलसी खोल्ने चलन पनि थिएन । नेपाली व्यवसायीले उधारोमा सामान मगाउथे र पछि भुक्तानी गर्थे । तत्कालिन समयमा मेरो बुबाले कलकोत्ताको साहुलाई सामान आयात गरेको भुक्तानी गर्दा पैसा (भारतीय रुपैयाँ)लाई दुई टुक्रा पारेर हुलाकमार्फत पठाउनु हुन्थ्यो । जसले गर्दा त्यसरी पठाएको पैसा कसैपनि दुरुपयोग वा अपचलन गर्न नसकुन । उदाहरणका लागि १ हजार दरका भारुलाई दुई टुक्रा पारेर फरक फरक खाममा हाल्ने अनि हुलाक मार्फत पठाउने । जुन पैसा अरुको लागि काम नलागोस । तर भारतीय साहुले त्यो पैसा कसरी चलनचल्ती ल्याउथे हामीलाई थाहा थिएन । २००७ साल अघि नेपालमा धेरै व्यवसायीहरु नै थिएनन् । एकदमै सिमित गन्तीमा व्यापारी मात्रै थिए । धेरैजसोले एउटा थैलीमा पैसा बोकेर कलकोता जाने सामान ल्याएर बिक्री गर्दथे । तर भक्तपुरमा हाम्रो परिवार, काठमाडौंमा केही २-४ जना व्यपारी र केही मारवाडीले सामान मगाएर अलि स्तरीय तरिकाबाट व्यापार गर्थे । सम्बन्धको आधारमा कलकोताको साहुले सामान पठाइदिन्थ्यो । हामीले टेकुबाट सामान बुझेर देशभर बिक्री गथ्र्यौ । न भन्सार तिर्नु पथ्र्यौ न अहिलेजस्तो सरकारी झमेला नै थियो क्या आनन्दको व्यापार थियो ।
एलसी खोलेर समान आयात
यसरी सामान आयात गरेर बिक्री गर्ने कामलाई नेपाली व्यापारीहरुले २००७ सालको राणा शासनको अन्त्य पछि पनि निरन्तरलाई दिइराखे । तर २०१६ सालमा तत्कालिन अर्थसचिव रामप्रसाद जोशीले नेपालले पाउने विदेशी मुद्रा आफैले प्रयोग गरेर सामान आयात गर्ने भन्ने विषयमा छलफल अघि बढाउनुभयो । त्यसभन्दा पहिला नेपाललाई विदेशीले अनुदानको रुपमा दिने जतिपनि विदेशी मुद्रा थियो ती सबै भारतले लिन्थ्यो र हामीलाई भारतीय मुद्रा मात्र दिन्थे वा सामान पठाउथे । हाम्रो आयात व्यापार भारतसँग मात्रै सिमित रहन्थ्यो । हामीलाई डलर लगायत अन्य विदेशी मुद्रा चलाउने अधिकार थिएन । तर तत्कालिन अर्थसचिव जोशीले नेपालले पाएको विदेशी मुद्रामार्फत हामी आफैले एलसी खोलेर विभिन्न देशबाट सामान आयात गर्नुपर्छ भनेर बहस चलाए । जतिवेला म चेम्बरमा थिए । चेम्बर र सरकारको सहकार्यमा विदेशबाट सामान आयात गर्न चाहने जति सबैलाई लाइसेन्स वितरण गर्ने भनेर देशभरबाट दरखास्त आब्हान गरियो । देशभरबाट आएको दरखास्तलाई छानविनका लागि सरकारले चेम्बरमा पठायो । जम्मा ७४ जनाले आवेदन दिएका रहेछन् । अनि चेम्बरको तर्फबाट मैलेनै हेरेर लाईसेन्स दिनका लागि सरकार समक्ष सिफारिस गरे र सोही अनुरुप व्यापारीहरुले सामान आयात गर्ने लाईसेन्स पाए । जहाँसम्म लाग्छ २ जना व्यापारीले विभिन्न कारणले गर्दा लाईसेन्स पाउन सकेका थिएनन् ।
त्यतिबेला ल्वाङ र सुपारी आयातका लागि दरखास्त दिनेको संख्या बढी थियो । सरकारले ल्वाङ र सुपारी आयातको लागि लाईसेन्स लिन ५ हजार र अन्य सामान्य आयातको लागि १० हजार शुल्क तोकिदियो । लाईसेन्स पाएसँगै व्यवसायीले जन्जीवार, सिंगापुर लगायत विभिन्न देशबाट ल्वाङ लगायतका सामान आयात गरे । तत्कालिन समयदेखि नेपालमा एलसी खोलेर सामान आयात गर्न थालियो । तत्कालिन समयमा भुगोपार्कमा रहेको नेपाल बैंकबाट पहिलो एलसी खोलेर नेपाली व्यवसायीले सामान आयात गर्न थालेका हुन् । तर रमाईलो के भयो भने देश र ठाउँ अनुसार सामानको मूल्य फरक फरक भयो । बजारमा फरक फरक मुल्यमा सामान विक्री हुन थालेपछि मूल्यमा एकरुपकता ल्याउन काठमाडौंका सिडियोको अध्यक्षतामा समिति बन्यो । त्यसमा चेम्बरको तर्फबाट मैले नै नेतृत्व गरेको थिए । मूल्यमा एकरुपकता ल्याउन ‘इक्युलाईजेश फण्ड’ स्थापना गरियो । सबै व्यापारीले एउटै मूल्यमा सामान बेचे ।
यसरी भित्रिए बर्मेली र मारवाडी
नेपालले विदेशी मुद्रामा एलसी खोलेर सामान आयात गर्न थालेसँगै पार्सल सिस्टम (एलसी नखोली हवाईजहाज मार्फत सामान आयात गर्ने) सुरुवात भयो । जसको लागि लाईसेन्स चाहिन्दैन्थ्यो । त्यसरी आयात गरिएको सामान भित्रि रुपमा भारत जान्थ्यो । त्यस्तो काम गर्न मारवाडीले मात्र सक्थे नेपालीले सक्दैन्थे । भारतलाई के के सामान चाहिन्छ भनेर भारतीयलाई सबै थाहा हुने भयो । व्यापारकै सिलसिलामा बर्माबाट मारवाडी व्यापारीहरुको नेपालमा प्रवेश भयो । उनीहरुले हङ्कङबाट पार्सलमार्फत नेपालमा सामान आयात गरेर भारत पठाउन थाले । नेपाललाई व्यापारिक केन्द्रजस्तै बनाईयो । यस्तो काम ३÷४ बर्ष राम्रै चल्यो तर त्यसमा नेपाली व्यापारीले प्रतिस्पर्धा गर्न सकेनन् । त्यसपश्चात बर्र्मेली मारबाडी व्यापारीले नेपालमा एक खालको कब्जा जमाएर बस्न थाले । त्यतिवेला केही नेपाली पनि आएका थिए । उदाहरणका लागि लक्ष्मी स्टिलमा मालिक स्वर्गीय लिलाराम न्यौपाने पनि बर्माबाटै व्यापारका लागि नेपाल आएका थिए । भारतीय नागरिकको व्यापारिक केन्द्रकै लागि पूर्वमा धुलाबारी बजार, विरगञ्ज बजार खुल्यो । ती बजारमा भारतीय नागरिकहरु सामान किन्नका लागि आउथे ।
व्यापारको विकासक्रम
भारतीय व्यापारीहरुको नेपालमा प्रवेशसँगै नेपालको व्यापार विकसित हुँदै गयो । त्यसपछि सरकारले उद्योगका लागि आवश्यक कच्चा पदार्थमा मात्रै आयात गर्न दिने अन्य मालसामान आयातमा कडाई गर्यो । तर विडम्बना भनौं त्यतिवेला नेपालमा मारवाडीले मात्रै उद्योग लगाएका थिए । उनीहरुले उद्योगका लागि आवश्यक कच्चा पादर्थ आयात गरे राम्रो कमाई गरे । त्यतिवेला गोल्छा, मदनलाल चिरञ्जीवी लाल, दुगडले स्टिलनेश स्टिलको उद्योग लगाईसकेका थिए । उनीहरुले विदेशबाट कच्चा पदार्थ झिकाएर नेपालमा सामान उत्पादन नगरी त्यसैलाई भारत निर्यात गर्दथे । तर पछि उनीहरुले नेपालमै उत्पादन सुरु गरे ।
सोही क्रममा तत्कालिन राजा महेन्द्रले तिब्बेतीयन खम्पाहरुलाई नेपालमा भित्र्याएर खुलेआम आयात निर्यात व्यापार गर्न पाउने सुविधा दिए । खम्पाहरुले के काम गरे थाहा भएर तर उनीहरुले पैसा चाहिँ राम्रै कमाए । जब २०४७ सालमा नेपाली कांग्रेसको सरकार आयो त्यसपछि सबैका लागि आयात व्यापार खुला गरिदियो । त्यसभन्दा पहिला उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्नका लागि पनि महिनावारी कोटा दिन्थ्यो । उद्योगी व्यापारीलाई आयातको लागि जति पनि लाईसेन्स दिन थाल्यो । तर त्यसका लागि शुल्क भने तिर्नुपर्दथ्यो । हाम्रो फर्मले पहिलो निर्यात अलैचीको गरेको थियो । नेपाल वायुसेवा निगम (तत्कालिन शाही नेपाली वायु सेवा निगम) को पहिलो उडान नेपालबाट ढाका भएको थियो । अतिथिको रुपमा म पनि गएको थिए । त्यहाँ २ दिनको बसाईमा भारतको इम्पेरियल टोवेको, पाकिस्तानको पाकिस्तान टेबेको कम्पनीको मालिकहरुसँग भेट हुने मौका पाए । सोही चिनजानको आधारमा मैले पाकिस्तानबाट पहिलो पटक थ्रिक्यासल, क्याप्टेन लगायतका चुरोट आयात गरेर बिक्री गर्न थाले । भने भारतबाट विडीको पत्ता ल्याएर ढाका तथा पाकिस्तान समेत निर्यात गरे । तर त्यसभन्दा पहिला भारतबाट लोकनाथ जोशीको नेपाल आयल स्टोरले चुरोट आयात गरेर बिक्री गर्दै आएको थियो । जब सरकारले जनकपुर चुरोट कारखाना खोल्यो त्यसपछि चुरोट आयातमै प्रतिवन्ध लाग्यो ।
देशमा व्यवसायीक हकहितका लागि नेपाल चेम्बर अफ कमर्स भन्दा पहिला देशमा अन्य संघसंस्था खुलेका थिएनन् । देशमा तत्कालिन समयमा काठमाडौंका व्यापारीहरु मिलेर वाणिक मण्डल भन्ने संस्था गठन गर्नुभएको थियो । तर त्यतिवेला म नेपालमा थिईन । तर त्यसैलाई परिमार्जन गरेर सन् २००९ सालमा नाम परिवर्तन गरी नेपाल चेम्बर अफ कमर्स गठन गरियो । त्यसलगत्तै नेपाल चेम्बर अफ कमर्सलाई व्यवसायीहरुको छाता संगठनको रुपमा अघि बढाउन विराटनगर, विरगञ्ज, नेपालगञ्ज र राजविराजमा जिल्ला चेम्बरहरु गठन र उनीहरु नेपाल चेम्बरको सदस्य भए । तर त्यसको २÷३ बर्षपछि चेम्बरको गतिविधि केही सुस्त हुँदै गयो । चेम्बरलाई केही गति दिन २०१४ सालमा म पनि नेपाल चेम्बर अफ कमर्सको सदस्य भए र नयाँ सदस्यता वितरणका लागि काम गरियो । केही हदसम्म सफल पनि भयौं । तत्कालिन समयमा चेम्बरको अफिस इन्द्रचोकमा रहेको इन्द्रभक्त श्रेष्ठको घरमा थियो । उहाँ चेम्बरको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । पछि चेम्बरलाई देशव्यापी रुपमा अघि बढाइयो ।
सोही समयमा नेपालमा मारवाडी र केही साउजीहरु मिलेर नेपाल फरेन ट्रेड एशोसिएशन नामको छुट्टै संस्था खोलेका थिए ।
सोही सिलसिलामा चेम्बरका साथीहरुबीचने नेपाल उद्योग वाणिज्य संघ स्थापना गरौं र जहाँ देशभरका उद्योगी व्यवसायीलाई समावेश गरौं भन्ने विषयमा छलफल चल्यो । जुद्धबहादूर श्रेष्ठ नाम गरेका विराटनगरका व्यवसायी थिए । उनी व्यवसायकै सिलसिलामा पछि उनी काठमाडौं आए । त्यसपछि २०१५ सालमा चेम्बरका अध्यक्ष समेत भए । उनी अध्यक्ष भएपछि चेम्बरले राम्रो गति लिएको थियो । त्यस कार्यसमितिमा म सदस्य भएर काम गरेको थिए भने २०१५ देखि २०१९ं सालसम्म चेम्बरको अवैतानिक सचिव भएर समेत काम गरे । तत्कालिन समयमै जुद्धबहादूर श्रेष्ठकै अगुवाईमा म (गणेशभक्त साखः) लगायतका ३÷४ जना व्यवसायी मिलेर छलफल लागि तत्कालिन उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णबम मल्लको कार्यकक्षमा गयौं । तर सचिव मल्लले त्यतिवेला अहिले उद्योग वाणिज्य महासंघ खोल्ने वेला भएको छैन बेला भएपछि म आफै वोलाउछु भने आश्वासन दिनुभयो । वास्तवमा तत्कालिन समयमा महासंघ खोल्नु पर्ने थिएन किनकि चेम्वरले नै महासंघकै काम गर्दै आएको थियो ।
तर पछि वाणिज्य सचिव आफैले बोलाएर महासंघ खोल्नका आगि अनुरोध गर्नुभयो । र चेम्बरका साथीहरुको अग्रसरतामा २०२२ साल पुस ११ देखि १४ गतेसम्म नेपालभरका व्यवसायीहरुलाई बोलाएर लैनचौरको खानी विभागको प्राङ्गणमा ३ दिनसम्म सम्मेलन गरियो । जसको उद्घाटन तत्कालिन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो । सोही सम्मेलनले महासंघ गठनका लागि चेम्बरका अध्यक्ष लोकनाथ जोशीको नेतृत्वमा तदर्थ समिति गठन गर्ने निर्णय पारित गर्यो । र भुगोलपार्कको नेपाल बैंक रहेको भवनको सबैभन्दा माथिल्लो तलाको एउटा कोठामा उद्योग वाणिज्य संघको अफिर राखियो । सोही सम्मेलनलेनै देशभर चेम्बर अफ कमर्स खोल्न निर्देशन भयो र सोही अनुरुप मैले पनि आफ्नै अध्यक्षतामा भक्तपुर चेम्बर अफ कमर्सको स्थापना गरे । त्यसैगरी ललितपुर चेम्बर अफ कमर्स र बनेपामा काभ्रे चेम्बर अफ कमर्स गठन भयो । त्यसअघि चेम्बर अफ कमर्समा सदस्यता लिएका जिल्ला चेम्बरहरु पनि महासंघको सदस्यता लिए । महासंघ गठनभएको २ बर्षपछि २०२४ सालमा महासंघको प्रथम सम्मलेन गरियो । त्यतिवेला देशभरबाट ४४ जनाले महासंघको सदस्यता लिएका थिए ।
त्यतिवेला अहिलेको जस्तो जिल्ला, वस्तुगत र एशोसिएट्स सदस्य भन्ने नै थिएन । सबै साधारण सदस्य थिए । संस्था हो नेतृत्व लिने जहाँ पनि प्रतिस्पर्धा र डिवेट भैहाल्छ । महासंघको कुल ४४ जना सदस्य रहेको संस्थामा मैले ४३ मत ल्याएर सदस्यमा विजयी भए । सोही सम्मेलनमा कुराकानी चल्दै थियो । सो समयमा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष बालकृष्ण श्रेष्ठले आवेगमा आई नेपाल चेम्बर अफ कमर्सले “छोरा जन्माउनु पर्नेमा बाबु जन्माए भनेर बोले, जुन त्यसबेला निकै बहुचर्चित हुन गयो । वास्तवमा स्व. बालकृष्ण श्रेष्ठले ठीकै बोलेका थिए – छोरा जन्माउनु पर्नेमा बाबु जन्माए भनेर । किनकि यदि चेम्बरले छलफल चलाएर महासंघ गठन नगरेको भए महासंघ गठन नै हुने थिएन भने चेम्बरको वर्चश्व पनि घट्ने थिएन । पछि नेपाल चेम्बर अफ कमर्सले आफ्नै नेतृत्वमा महासंघ खोलेर ठुलो गल्ती भएको महमुस गरी नेपाल उद्योग वाणिज्य संघ नै परित्याग गर्यो । नेपाल चेम्बर अफ कमर्स आफैले सृष्टि गरेको नेपाल उद्योग वाणिज्य संघसँग धेरै बर्ष टकरावपूर्ण सम्बन्ध रह्यो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष समेत भैसकेको दिग्गज स्व इन्द्रभक्त श्रेष्ठ जब नेपाल उद्योग वाणिज्य महासंघको २०३५ सालको चुनावमा अध्यक्ष चुनिए त्यस बेलादेखि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघको सम्बन्ध सुधिर्दै गएको देखिन्छ ।
नेपाल चेम्बर अफ कमर्सले राष्ट्रिय स्तरको उद्योग वाणिज्य संघको रुपमा केहि हदसम्म कार्य गर्दै आएको थियो र म आफैले पनि जनकपुर व्यापार संघको प्रतिनिधित्वको रुपमा नेपाल चेम्बर अफ कमर्सको समितिमा रही कार्य गरेको थिएँ । यसो भन्नुको अर्थ नेपाल चेम्बर अफ कमर्सले फेडरेशनको काम पनि गरेको थियो । महासंघ खुलेपछि चेम्बरको कार्यक्षेत्र केही साधुरो भयो । चेम्बरले काठमाडौं उपत्यकामा केन्द्रित उद्योगी व्यवसायीको हकहितमा बढी केन्द्रित भयो । तर ठूला उद्योग तथा देशभरका उद्योगी व्यवसायीको हकहितका लागि महासंघले काम गर्न थाल्यो । महासंघ खोल्दाको समय हामी जतिजनाको कार्यसमिति थियौं त्यसमध्ये अहिले म मात्रै छु अरु सबै दिवगंत भैसक्नुभयो ।
(नेपाल चेम्बर अफ कमर्सको ७० औं बार्षिकोत्सवको अवसरमा प्रकाशित चेम्बर ग्रन्थमा प्रकाशित साखःको लेख । साखःको बैशाख ३ गते निधन भएको छ )