कोभिड–१९ महामारीले संसारलाई बन्धक बनायो, हामी सवैलाई घरभित्रै बस्न बाध्य बनायो । यसले हाम्रो दिनचर्या, जीयवनयापन, सामाजिक एवम् आर्थिक गतिविधिमा धेरै प्रभाव पा¥यो । व्यापार श्रृङ्खलामा ठूलो असर पर्यो भने उत्पादनदेखि वितरण र आपूर्तिसम्मको चक्रलाई भत्कायो । अर्थतन्त्रलाई शिथिल बनायो । गरीबी र बेरोजगारी बढायो । कतिपय उद्योगी व्यापारीहरु पलायन नै हुन पुगे ।
कोभिडको जोखिम अझै सकिएको छैन । यद्यपि विभिन्न देशहरुले कोभिडका कारण टुटेको व्यापार श्रृङ्खलालाई जोगाउन विभिन्न प्रयत्नहरु गरेका छन् । आफ्नो अवस्था, क्षमता र सम्भावनाअनुसार उत्पादन बढाउनेदेखि अन्य राष्ट्रसँगको सहकार्यलाई अघि बढाएर व्यापार श्रृङ्खलालाई जोगाउने प्रयास गरिरहेका छन् । कतिपय मुलुक यस समस्याबाट बाहिर आईसके भने कतिपय प्रयासरत छन् । नेपाल पनि टुटेको व्यापार श्रृङ्खला जोड्ने प्रयासमै छ ।
हामी यो महामारीको चपेटाबाट अहिल्यै पूर्णरुपमा बाहिर आउन नसके पनि विस्तारै छुटकारा पाउने प्रक्रियामा छौं । कोभिडको जोखिम र प्रभावबाट छुटकारा पाउन पछिल्लो समय आएको कोरोनाविरुद्धको खोपले पनि केही हदसम्म सहयोग पु¥याउने विश्वास गरिएको छ । यद्यपि कोरोनाको विस्तार र खोपको उपलब्धताको आधारमा सन् २०२२ मा मात्रै विश्वभरका मानिसहरुलाई खोप लगाउन सकिने विज्ञहरुले बताउँदै आएका छन् ।
कालो बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै यस महामारीले हामीलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अवसर दिएको छ । अब उत्पादन र पूँजी निर्माणमा विशेष जोड दिनैपर्छ भन्ने गतिलो पाठ हामीले सिकेका छौं । उत्पादनदेखि वितरण र आपूर्तिसम्मको श्रृङ्खलालाई चुस्त बनाउन पूर्वाधार विकास गर्नुपर्छ भन्ने शिक्षा पाएका छौं । सूचना तथा सञ्चार प्रविधि र विज्ञानको विकास र प्रयोगविना अघि बढ्न सकिंदैन भन्ने पाठ सिकेका छौं । यसर्थ, महामारीका तमाम प्रभाव र असरका बावजुद यसले सिकाएको पाठलाई सकारात्मकरुपमा लिएर त्यसको अनुशरण गर्दै आत्मनिर्भर अर्थतन्त्र विकासमा जुट्नुपर्छ ।
पुनरुत्थानको प्रयास
कोभिडबाट मुलुकको उद्योग व्यापार, शिक्षा, पर्यटनलगायत अधिकांश क्षेत्र प्रभावित भए । धेरै क्षेत्रहरु एक–अर्कामा जोडिएका हुनाले पनि एउटा प्रभावित हुँदा अर्को स्वतः प्रभावित हुने अवस्था आयो । कतिपय क्षेत्रका व्यवसायीहरु त पलायनै हुनुपर्ने अवस्था समेत आएको छ । धेरै जसो धनी देशहरुले मनी सर्कुलेशनका लागि भन्दै आफ्ना उद्योगी व्यवसायीहरुलाई पैसा नै बाँडेर राहत दिए, नगद प्रवाहमा सहजीकरण गरिदिए । जसका कारण ती देशमा माग र आपूर्तिको श्रृङ्खला चाँडै पुरानो अवस्थामा फर्कियो, कामदारहरुको रोजगारी पनि फर्कियो । तर नेपालजस्ता गरीब देशहरुले नगद राहत दिन सकेनन् । नगद प्रवाहमा प्रत्यक्ष सघाउने क्षमता पनि भएन । यसले गर्दा उद्योगी व्यवसायीहरु पलायन हुन पुगे, श्रमिक मजदुरको रोजगारी गुम्न पुुग्यो ।
यद्यपि नेपालका उद्योग व्यवसाय पनि क्रमशः पुनरुत्थानको बाटोमा छन् । कतिपय क्षेत्रहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् भने कतिपय अझै पुनरुत्थान हुने बाटोमै छन् । विभिन्न क्षेत्रअनुसारका उद्योग व्यवसायले कोरोनाको कहर कम हुँदै जाँदा आफ्नो बाटो समातिरहेको अवस्था छ । खासगरी खाद्यन्नलगायत थुप्रै उत्पादनमूलक क्षेत्रहरु पुरानै लयमा फर्किसकेका छन् । निर्माण, स्वास्थ्य, शिक्षालगायत क्षेत्र पनि सञ्चालनमा आईसकेका छन् तर अझै राम्रोसँग लय समाउन सकेका छैनन् । मूल्य तथा वितरणमा केही चुनौतिहरु भए पनि हामीले त्यसलाई समाधान गर्दै अघि बढाईरहेका छौं । तर होटल, रेष्टुरेन्ट, ब्यांक्वेट, अन्तरर्राष्ट्रिय हवाईलगायत क्षेत्र अझै पनि समस्यामै छन्, कतिपय ठप्प नै छन् ।
जोखिमकै वीच व्यवसायीले सकेसम्म व्यावसायिक गतिविधिलाई निरन्तरता दिईरहेका छन् । संकट आयो भन्दैमा हामी पछि हट्ने भन्ने हुँदैन । नेपालमा कोभिड विरुद्दको खोपको उपलब्धताले उद्योगी व्यवसायीहरुलाई केही उर्जा भने थपिदिएको छ । सोही कारण पनि अहिले हामी निडर भई खुल्लारुपले व्यापार व्यवसाय गरिरहेका छौं । कोरोनाले थिलथिलो बनाएको अर्थतन्त्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउन सरकारले व्यवसायीको आवश्यकता बुझिदिनुपर्छ ।
असहज आयात–निर्यात
नेपाल अहिलेसम्म आयातमुखी अर्थतन्त्र भएकै मुलुक हो, हामी धेरै वस्तुमा परभिर्नर छौं । त्यति मात्रै होइन, नेपालमा उत्पादन हुने धेरैजसो वस्तुको कच्चा पदार्थ पनि आयात नै गरिन्छ । कोरोना महामारीका कारण विश्व बजारमा माग र आपूर्तिको श्रृङ्खला खल्वलिँदा नेपाल पनि त्यसबाट प्रभावित बन्यो । केही समय श्रृङखला पूर्णरुपमा भत्किएकाले अहिले पनि कच्चा पदार्थको आयातमा समस्या देखिएका छन् । कच्चा पदार्थ र सिपिङलगायतको मूल्यसमेत बढेको छ । यसले हाम्रो व्यापारदेखि उत्पादनसम्मको लागत बढाएको छ ।
व्यापार चक्रमा असर पर्दा त्यसबाट उत्पादन क्षेत्रसमेत प्रत्यक्ष प्रभावित हुने नै भयो । कच्चा पदार्थको सुपथ र सहजरुपमा आपूर्ति नहुँदा उत्पादन गर्न गाह्रो भएको छ । निर्यातका लागि आवश्यक ढुवानीको व्यवस्था मिलाउनसमेत अप्ठ्यारो भएको परिस्थिति छ । एकातर्फ थुप्रै शिपिङ कम्पनी बन्द भएका छन् भने सञ्चालनमा रहेका शिपिङले चर्को मूल्य असुली रहेकाछन् । एयर ट्राभलले पनि निरन्तरता पाएको छैन, यसले गर्दा धेरैजसो एयर कार्गाे सेवाहरु हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । यस्ता तमाम कारणले आयात निर्यात व्यापारले पुरानो लय समात्न सकेको छैन । यसर्थ हामी उद्योगी व्यवसायी र राज्यको ध्यान आयात निर्यातलाई सहज बनाउनेतर्फ हुनुपर्ने देखिएको छ ।
सूचना प्रविधको विकास र प्रयोग
कोरोना महामारीको जोखिम रहैकै यो अवस्था र त्यसले सिर्जना गरेको परिस्थितिमा हामीले पछिल्लो समय प्रचलित सूचना प्रविधि (आईटी) क्षेत्रको विकास र प्रयोगलाई बढाउनुको विकल्प छैन । आईटीको प्रयोगलाई विशेष ध्यान दिएर अघि बढ्न सके फाईदा लिन सकिने देखिन्छ । महामारीको अवस्थामा पनि घरमै बसीबसी काम गर्न सकियो । सूचना प्रविधिमा भएको पछिल्लो विकासले त्इो सम्भव भएको हो । महामारीको अवस्थामा पनि आईटी क्षेत्रले धेरै ठूलो प्रगति गरिरहेको छ । यसले हामीलाई प्रविधिमा लगानी बढाउनुपर्छ भन्ने पाठ सिकाएको छ । अब आईटीको विकास र उपयोग गर्दै यस क्षेत्रमा लगानी बढाउनैपर्ने देखिएको छ । धेरै जसो सेवा प्रदायकले दिने सेवा सूचनाप्रविधिको प्रयोगमार्फत घर तथा कार्यालयमा बसेरै लिने व्यवस्था मिलाउनु पर्छ । हाल हामीकहाँ प्रविधिको प्रयोग शुरु भए पनि भौतिकरुपमा उपस्थित हुनुपर्ने र सनाखत गर्नुपर्ने पुरानो व्यवस्था कायमै छ । त्यसले काम र झञ्झट थपिएको छ । भौतिकरुपमा उपस्थित हुनुपर्ने ब्यवस्थाको तुरुन्तै अन्त्य हुनु पर्दछ ।
पुँजी निर्माण आजको आवश्यकता
नाराले मात्र कुनै पनि मुलुक समृद्ध भएको छैन । पहिले त हामी आफै देशलाई कता लैजाने भन्ने बारे प्रष्ट हुन सकेका छैनौं । हामी अहिले नेपालमा समाजबाद मात्रै भनिरहेका छौं । तर नेपालमा समाजवादको नाराले मात्रै पूँजीको विकास गर्न सक्दैन । नराले मात्रै पुँजी निर्माण गर्न सकिंदैन भन्ने कुरा विभिन्न कम्युनिष्ट राष्ट्रहरुले देखाइसकेका छन् । कतिपय देशहरुले पूँजीवादको नारा नलगाईकनै पूँजीनिर्माण गरेको देखिन्छ । जसमार्फत ती मुलुकका नागरिकहरुले सहजरुपमा आधारभुत आवश्यकता पूरा गर्न पाएका छन् । नेपालले पनि पूँँजीवादको नारा लगाई पूँजीवादतिरै लाग्नुपर्छ भन्ने मेरो मान्यता छ । यसो गर्न सकिए पूँजी निर्माण हुन्छ । पूँजीवादबाटै ढिलोचाँडो समाजवादमा पुगिने हो, यसर्थ अहिलेको आवश्यकता पूँजीको निर्माण र विकास हो ।
पूँजी निर्माणको आधारको रुपमा हामीलाई आवश्यक अधिकांश वस्तु तथा सेवाहरु आफ्नै देशमा उत्पादन गर्ने क्षमता राख्नुपर्दछ । सम्भव भएका वस्तुहरु स्वदेशमै उत्पादन गर्ने र सम्भव नभएका वस्तुहरुका लागि भने निश्चित देशसँग मिलेर आपसी हितअनुरुप अघि बढ्ने नीति लिनुपर्छ र सोहीअनुसार कार्य गर्नुपर्छ । हामीलाई कस्तो बाद चाहिएको हो ? पूँजीबाद कि समाजबाद ? अनि समाजबाद भनेको कस्तो हो ? यी सवै प्रश्नको उत्तर पहिल्याएर हामीले कस्तो अर्थतन्त्र बनाउन खोजेका हौं स्पष्ट हुनुपर्छ । यसका लागि देशका विज्ञहरु, निजी क्षेत्र र राजनीतिकर्मीहरुले निर्णय लिनुपर्छ ।
यसर्थ पूँजी निर्माण र विकासका लागि निजी क्षेत्रलाई उत्पादन वृद्धितर्फ जोड दिन उत्पे्ररित गर्नुपर्छ । बजार विस्तारको व्यवस्था सरकारले गरिदिनुपर्ने हुन्छ । यस्तै नेपाली जनतामा पनि नेपालमै उत्पादित वस्तुहरुको उपयोग गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्ने देखिन्छ । सरकारले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्छ । स्वदेशी वस्तुको प्रगोग गर्न ल्याएको निर्देशिकाको परिपालना हुनुपर्छ । सरकारले यी वस्तुहरुमा हामी आत्मनिर्भर हुँदैछौं, यी वस्तुहरुको अवस्था यस्तो छ भन्ने लगायतका जानकारीहरु संग्रहीत गर्नुपर्छ र सोहीअनुसार उत्पादनमा बल पुग्ने र खपत बढाउने नीति लिनुपर्छ ।
उद्योगी व्यवसायीहरु कति कठिन परिस्थितिमा बाँचीरहेका छन् भन्ने कसैलाई वास्ता हुँदैन । तर उसको कमाईमा सबैका आँखा हुन्छ । उद्योगी व्यवसायीलाई हेर्ने नजरिया नै फरक छ । त्यसैले हामी उद्योगी व्यवसायीलाई हेर्ने नजर समेत बदल्न आवश्यक छ । हामीलाई पूँजी निर्माण र विकासको साधकको रुपमा हेरिनुपर्छ ।
न्यून ब्याजदर पुनरुत्थानको आधार
पछिल्लो समय एकल अंकको ब्याजदर हुनपर्छ भन्ने माग तथा सुझावहरु आईरहेका छन् । खासगरी दोहोरो अंकको ब्याजदर हुँदा लागत उच्च हुन गई उद्योग व्यवसाय सञ्चालनमा समस्या भइरहेको देखिन्छ । यसर्थ देशको विकास गर्नका लागि कर्जाको ब्याजदर ६ देखि ७ प्रतिशतभन्दा बढी हुन हुँदैन । हामीले पैसा बचत भन्दा पनि लगानी गर्ने बानी बसाल्नुपर्छ । लगानीबाट आएको प्रतिफलले नै पुग्ने अवस्थामा वचतको काम छैन । ठूला देशहरुका प्रायः नागरिकहरुले बैंकमा पैसा जम्मा नगरी लगानी गर्छन्, सोहीअनुसार देशको क्रय शक्ति पनि बढेको पाईन्छ । कोरोनाले थलिएको उद्योग व्यवसायलाई उकास्न ६ देखि ७ प्रतिशतको बैंक व्याजदर पर्याप्त हुन्छ । बैंकको व्याजदर यो स्तरमा आएको खण्डमा पलायन भएका व्यापार व्यवसाय पनि फर्किने सम्भावना रहन्छ ।
स्रोत साधनको परिचालन र उपयोग
कोभिडको महामारीको जोखिम यथावत छ, अर्थतन्त्र शिथिल भएको छ, यस्तो अवस्थामा मुद्रास्फिति पनि कम हुने संभवाना देखिएको छ । अहिले अर्थतन्त्र पुनरुत्थानको लागि हामीलाई ठूलो लगानी चाहिएको छ । यसका लागि सरकारसँगै निजी क्षेत्रले पनि विदेशी ऋण र लगानी ल्याउन पहल गर्नुपर्छ । आन्तरिक स्रोत साधनबाट मात्रै हामीले खोजेको विकास र उन्नति सम्भव नहुन पनि सक्छ । यसर्थ बाह्य स्रोत परिचालनका लागि स्पष्ट र सहज नीति हुनुपर्छ ।
नेपालसँग स्रोत र साधनको कमी छैन तर यसलाई सही उपयोग गर्ने गरी नीतिगत व्यवस्था हुनु भने अत्यन्तै आवश्यक छ । नेपालमा भएको पानी, जडिबुटीलगायत प्राकृतिक वस्तुलाई मूल्य अभिवृद्धि (भ्यालू एड) गरेर विक्री गर्न सकेमा हामीले लाभ लिन सक्छौं । त्यसो त संसारका कतिपय देशहरुमा कच्चा पदार्थ नभए पनि उच्च मूल्यका वस्तुहरु उत्पादन गरिरहेका छन्, जसलाई हामी पनि किन्छौं । तर हामीसँग स्रोत र साधन भएपनि राम्रो योजना र सोचका साथ अघि नबढ्दा त्यसको उचित उपयोग र परिचालन गर्न सकेका छैनौं । स्रोत साधनको सही ढंगले परिचालन गर्न सकेको अवस्थामा नेपालजस्तो सानो मुलुकले पनि चाँडै सफलता पाउन सक्दछ ।
संस्कृति-प्रकृतिको संरक्षण गर्दै विकास
नेपाल संस्कृति बेचेरै पनि धनी हुन सक्ने अवस्थामा छ । त्यसैले हामीले हाम्रो संस्कृतिको जगेर्ना गरी यसको सही विकासमा जोड दिनुपर्छ । त्यसका लागि आवश्यक पूर्वाधारहरु जस्तै हवाई मार्ग, सडकलगायतको विकास गरिनुपर्छ । यसको सहजीकरणका लागि निजी र सरकारी क्षेत्र भनेर नछुट्याई सबै मिलेर अघि बढ्नुपर्छ । हाम्रो सांस्कृति एवम् प्राकृतिक स्रोत साधन देखाएर लाखौं पर्यटक भित्र्याउन सकिन्छ । त्यसबाट मनग्य विदेशी मुद्रा कमाउन सकिन्छ । त्यसो गर्न सक्ने हो भने हामी संसारकै सबै भन्दा धनी मुलुक पनि बन्न सक्छौं ।