Logo

आकाशियो खानेतेलको मूल्य : सरकार अध्ययन गर्दै, व्यवसायी भन्छन-‘मूल्य अझै बढछ’

आकाशियो खानेतेलको मूल्य : सरकार अध्ययन गर्दै, व्यवसायी भन्छन-‘मूल्य अझै बढछ’



काठमाडौं । पछिल्ला केही महिनायता खानेतेलको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ । केही समयअघि १ सय ४० देखि १ सय ८० रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेका उपभोक्ताले अहिले सनफ्लावर (सूर्यमुखी) तेललाई हाल २ सय ३० बढी तिर्नुपरेको छ ।

अहिले बजारमा यही रेञ्जमा भटमास (सोयाविन) र तोरीतेलको मूल्य पनि वृद्धि भएको छ । प्रतिलिटरमै १ सय रुपैयाँको हाराहारीमा मूल्यवृद्धि हुँदा उपभोक्ताहरु पीडामा छन् । तर, दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धिप्रति भने सरकारी निकायहरुको मौनता आश्चर्यलाग्दो छ ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले अहिलेको मूल्यवृद्धिबारे अध्ययन गरिरहेको बताउँछ । तर, गत मंसिरदेखि नै उकालो लाग्न थालेको तेलको मूल्यको उकालो लाग्ने क्रम अझै पनि रोकिएको छैन । गत मंसिरअघि नेपाली बजारमा भटमासको तेल प्रतिलिटर १ सय ६५ रुपैयाँमा उपलब्ध हुन्थ्यो । तर, हाल बजारमा यसको मूल्य बढेर २ सय ३० बढी पुगेको छ । यस्तै सनफ्लावर तेलको मूल्य मंसिर अघि १ सय ८० रुपैयाँ थियो । यसको मूल्य बढेर २ सय ४० देखि ५० रुपैयाँ पुगेको छ । साथै तोरीको तेलको मूल्य पनि सोहीअनुसार बढेको छ । मंसिरअघि २ सय २० रुपैयाँ प्रतिलिटरमा पर्ने तोरीको तेलको मूल्य हाल बढेर प्रतिलिटर २ सय ७० देखि २ सय ९० रुपैयाँ पुगेको छ ।

वाणिज्य विभागले एकपटक सचेत गराउँदा मूल्य घटाएका उद्योगीहरुले पुनः खानेतेलमा मूल्यवृद्धिको पुरानै लय समातेका छन् । उद्योगीसँग निरन्तर तेलको मूल्य बढ्नुको कारण मागिरहेको भएपनि भरपर्दाे जवाफ पाउन नसकेको वाणिज्य विभाग बताउँछ । जसका कारण विभागले न मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न सकेको छ, न मूल्य घटाउन पहल नै गर्न सकेको छ ।
तेल उद्योगीहरुले भने विभागलाई कच्चा पदार्थ महंगो भएको रेडिमेड जवाफ दिने गरेको अवस्था छ । विभागका प्रवक्ता सिवराज सेँढाई कच्चापदार्थ महँगो भएका कारण खाने तेलको मूल्य बढेको उद्योगीहरुले जवाफ दिएको बताउँछन् । उनका अनुसार विभागले अनुगमन गरेरै तेलको मूल्य अस्वभाविक रुपमना बढेको भन्दै उद्योगीहरुसँग स्पष्टीकरण सोधेको थियो । तर, उद्योगीहरुले ब्राजिल तथा अर्जेन्टिना, युक्रेन, भारतलगायतका देशहरुमा भटमास तथा सुर्यमुखीको बियाँको मूल्य बढेपछि तेलको मूल्य बढेको जवाफ दिएको उनले बताए । विभागले उद्योगीहरुको जवाफलाई भरपर्दाे तथा वास्तविक रहे नरहेको यकिन गर्न भन्सार विभागको प्रज्ञापनपत्र पनि मगाएको थियो ।

तर, उक्त प्रज्ञापनपत्र केही उद्योगीहरुले मात्रै बुझाएको र केहीले अझै तेलको मूल्य बढ्नसक्ने संकेतसमेत गरेको प्रवक्ता सेढाईँले बिजखबरलाई जानकारी दिए । ‘हामीले तेलको मूल्य बढ्नुको कारण उद्योगीहरुसँग मागिरहेका छौं, सोहीअनुसार काम पनि भएको छ,’ उनले भने, ‘उद्योगीसँग् प्रज्ञापनपत्रसँगै भन्सारबाट आयात गरिने कच्चा पदार्थको मूल्यसूची पनि मगाएका छौं, तर केही उद्योगीहरुले भने कच्चापदार्थ पहिलेको भन्दा अझै महंगो मूल्यमा बुक गरेकाले साविकको तुलनामा अझै तेलको मूल्य बढ्न सक्ने बताउनुभएको छ ।’

विभागले अझै प्रज्ञापनपत्रलाई पनि आधिकारिक र विश्वास गरेर उपभोक्तालाई तेलको मूल्य वास्तविक रुपमा बढेको भनेर भन्न सकेको छैन । पछिल्लो समय उद्योगीहरुले प्रज्ञापनपत्रमा पनि सोहीअनुसारको मूल्य बढाएको हुनसक्ने आशंका विभागले गरेको देखिन्छ । नेपाललले खानेतेलको कच्चापदार्थ भटमास, सुर्यमुखीको बियाँ, पामलगायत अमेरिका, ब्राजिल, अर्जेन्टिना, चीनलगायत देशबाट आयात गर्छ । नेपालले बर्षेनी यी देशहरुबाट यस्तो कच्चापदार्थ ३० अर्ब बढीको आयात गरी प्रशोधन गर्नेगरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को तथ्यांकमा उल्लेख छ ।

अन्तरराष्ट्रिय बजारलाई हेर्दा फोब्र्सले ३ महिनाअघि भटमासको मूल्य बढेर हालसम्मकै उच्च पुगेको उल्लेख गरेको छ । विश्वमा भटमास निर्यात गर्ने प्रमुख देशहरुमा ब्राजिल, अमेरिका, अर्जेन्टिना र पाराग्वे हुन् । जसमा सबैभन्दा बढी अर्थात ४ देशले गर्ने निर्यातको ५४ प्रतिशत भटमासको निर्यात ब्राजिलले मात्रै गर्छ । गत बर्ष ब्राजिलले सबै भटमास चीनमा निर्यात गरेपछि हाल आफुलाई चाहिने भटमास पनि किन्दैछ । सोहीकारण पनि बजारमा भटमासको मूल्य बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL