Logo

मनकामना केबुलकार भोलिबाटै सुचारु हुने, प्रथम चरणको स्तरोन्नति एकदिन अगावै सम्पन्न

मनकामना केबुलकार भोलिबाटै सुचारु हुने, प्रथम चरणको स्तरोन्नति एकदिन अगावै सम्पन्न



काठमाडौं । मनकामना दर्शन प्रालिले केबुलकार सेवा यसअघि सूचना गरिएको भन्दा एकदिन अघिबाटै सुचारु हुने जनाएको छ । कम्पनीले शनिबार एक सूचना जारी गर्दै प्रथम चरण मध्यको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न हुने भएको जनाएको छ ।

यसअघि ३१ चैतबाट सुरु हुने भनिए पनि अब ३० चैत सोमबारबाटै मनकामना केबुलकार सेवा सुचारु हुने भएको हो ।

यसअघि कम्पनीले चैत २३ गते एक सूचना जारी गर्दै केबुलकार ६ दिन बन्द हुने जनाएको थियो । उक्त सूचनामा स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने जनाइएको थियो ।

२०५५ मंसिर ८ गतेदेखि सुरुवात भएको मनकामना केबुलकारले २३ वर्षको सेवा गरी सकेको छ । लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने रणनीति लिएको कम्पनीले जनाएको छ ।

कम्पनिले पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पाटपुर्जाहरु फेरिने, दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपूर्जाहरु फेर्ने कम्पनीले जनाएको छ ।

अन्तिम चरणमा हाल एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबुल लट्ठा बदल्ने, सञ्चार केबुललाई सेट्रा केबुलमा रुपान्तरण गर्ने, डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी अत्याधुनिक प्रविधियुक्त बनाउने कम्पनीले तयारी थालेको छ ।

यी तीन चरणमा काम गर्न २ वर्ष समयावधि चाहिने र नयाँ प्रविधिसहित २५औं बार्षिकोत्सव मनाउने तयारी गरिएको कम्पनीले जनाएको छ । यो बीचमा नियमित मर्मत सम्भार र अन्य कामका लागि पटकपटक सेवा अवरुद्ध हुनसक्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका कार्यकारी सञ्चालक राजबाबु श्रेष्ठले यसबीचमा पनि सेवा सञ्चालनलाई अधिकतम् सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL