Logo

नेपाली बजारमा एकैपटक ३ सय किलो सुन भित्रिदैं, सुनचाँदी व्यवसायीमा उत्साह

नेपाली बजारमा एकैपटक ३ सय किलो सुन भित्रिदैं, सुनचाँदी व्यवसायीमा उत्साह



काठमाडौं । नेपाली बजारमा अवको केही दिनमा एकैपटक ३ सय किलो बढी सुन भित्रिने भएको छ । चैत्र १९ गतेदेखि विदेशबाट भित्रिन नपाएको सुन एकैपटक ठूलो मात्रामा बजारमा आन लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

शाक्यका अनुसार २९ गतेसम्म एकैपटक ३ सय किलो सुन आउने निश्चित छ । उनका अनुसार पछिल्लो समय सुन आयातको कोटा बढाएपछि आयात हुने सुन नेपाल आउन सकेको छैन । सोही सुन एकैपटक आउने भएको हो ।

कोरोनाका कारण अर्थतन्त्रलाई चाप परेको भन्दै गत बर्ष चैत १६ गते बसेको मन्त्रीपरिषद बैठकले विलासी बस्तु आयातमा अंकुश लगाएको थियो । सोहीअनुसार दैनिक २० किलो आयात गर्न पाईने सुनलाई १० किलो मात्रै आयात गर्न पाइने व्यवस्था गरिएको थियो । कोरोना कहर सेलाउँदै जाँदा र अर्थतन्त्र पुरानै लयमा फर्किँदा यसको माग उच्च हुन थालेको छ ।

बजारमा सुनको उच्च माग भएको तर, आयातित सीमाबाट आएको सुन एकदमै कम भएको भन्दै सुनचाँदी व्यवसायीहरुले सुन आयातको कोटा बढाउनुपर्ने माग गर्दै आएका थिए । सोहीअनुसार गत १३ गते राष्ट्र बैंकले अब दैनिक २० किलो सुन आयात गर्न पाईने गरी सर्कुलर जारी गरेपछि सुन आयात पनि पुरानै लयमा फर्किएको छ ।

राष्ट्र बैंकको सर्कुलर चैत १९ गतेदेखि लागु भई दैनिक २० किलो सुनको आयात गर्नेगरी अर्डर भएको अध्यक्ष मणिकरत्न शाक्यले बताए । १९ गतेदेखि अर्डर गरिएको सुन आउन केही ढिलाई भएको र सोहीअनुसार बजारमा हाल सुनको कमी छ । तर, आइतबारसम्म १९ गतेदेखि मगाएको सबै सुन करिव ३ सय किलो आईपुग्दै गरेको उनले जानकारी दिए ।

तर, व्यवसायीहरुले अहिलेको कोटाले पनि बजारको माग नधान्ने बताइरहेका छन् । ‘हाल बजारको माग दैनिक ३० देखि ३५ किलोको छ,’ महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने, ‘तर एकैचोटी ३ सय किलो सुन आउँदा भने मागमा केही राहत हुनेछ ।’

नेपाली बजारमा हाल सुनको मूल्य प्रतितोला ८५ हजार देखि ८७ हजार रुपैयाँको बीचमा तलमाथि भइरहेको छ । तर, आगामी दिनमा विश्वबजारको ट्रेण्ड हेरेर सुनको मूल्य अझै बढ्न सक्ने अवस्था रहेको पनि उनले बताए ।

सुनलाई संसारभर नै सर्वाधिक सुरक्षित लगानीका रूपमा लिइन्छ । त्यसैकारण सुनको माग पनि उच्च छ । तर, नेपालमा लगानीको उपकरण मानेर सुन किन्ने व्यवस्था नभएपनि गरगहनाको प्रयोजनमै पनि सुनको खपत उच्च रहेको छ । सुनको धितोमा बैंकले ऋण दिने र तत्कालै बेच्न सकिने भएकाले सुनका गरगहना पनि धेरैका लागि लगानी विविधिकरणको पाटोको रुपमा रहेका छन् ।

अनौपचारिक अर्थतन्त्र भनिने तस्करीमा पनि सुन नै सर्वाधिक प्रयोग हुने गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक आयातले नेपालमा भित्रिएको सुनको वास्तविक आकार यो तथ्यांकभन्दा निकै बढी हुनसक्ने राष्ट्र बैंकको आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्
MBL