Logo

आकाशियो क्रिप्टोकरेन्सी, बजार पूँजीकरण २ ट्रिलियन डलर पुग्यो

आकाशियो क्रिप्टोकरेन्सी, बजार पूँजीकरण २ ट्रिलियन डलर पुग्यो



काठमाडौं । सोमबार डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को बजार पूँजीकरण २ ट्रिलियन डलर पुगेको छ । तथ्यांक तथा मार्केट विश्लेषक कोइनगेक्को र ब्लकफोलियोले क्रिप्टोकरेन्सीको बजार पूँजीकरण बढेर हालसम्मकै उच्च भएको बताएका हुन् । पछिल्ला केही महिनायता क्रिप्टोकरेन्सीका संस्थापक तथा खुद्रा माग धेरै नै बढिरहेको अवस्था छ ।

सोमबार मध्य दिउँसोसम्म क्रिप्टोकरेन्सीको मार्केट क्याप २ दशमलव ०२ ट्रिलियन पुगेको थियो । डिजिटल मुद्राको एकाएक उचाईको प्रमुख श्रेय बिटकोइनलाई दिइएको छ । पछिल्लो एक हप्तामा बिटकोइनले मात्रै आफ्नो बजार पूँजीकरण १ ट्रिलियन डलरको पुर्याएको छ । मध्य मार्च महिनासम्म ५९ हजार ४५ डलर पुगेको बिटकोइनको मूल्य हाल १ दशमलव ४ प्रतिशतले बढ्दै हालसम्मकै उच्च ६१ हजार डलर पुगेको हो ।

मार्केट विश्लेषकहरुले बिटकोईनको मूल्य ५३ हजार डलरभन्दा माथि भएको अवस्थामा यसको मार्केट क्याप १ ट्रिलियन डलरको हुने बताएका छन् ।
यस्तै क्रिप्टोकरेन्सीको दुनियाँमा दोस्रो ठुलो हिस्सा इथेरियमको छ । गत हप्ताको शुक्रबारको तुलनामा सोमबार ईथेरियमको मूल्य १ दशमलव ३ प्रतिशतले बढ्दै २ हजार १ सय ४४ डलर पुगेको छ । सोमबारसम्म यसको बजार पूँजीकरण बढेर २४४ अर्ब डलरको पुगेको छ । गत शुक्रबार ईथेरियमको मूल्य २ हजार १ सय ३ डलर थियो ।

पछिल्लो समय यसको माग र बजारमा भईरहेको खरिदविक्री बढेका कारण यसको मूल्यमा लगातार वृद्धि भईरहेको विश्लेषकहरु बताउँछन् । यो बर्ष बिटकोइनको मूल्य शतप्रतिशतभन्दा बढीले बढेको छ । तर इथेरियमले भने यस अवधिमा झण्डै १९० प्रतिशत आर्जन गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्