Logo

पहिलो पटक चेम्बर गल्फ टुर्नामेन्ट, पूर्व सचिव कार्कीले उचाले उपाधि

पहिलो पटक चेम्बर गल्फ टुर्नामेन्ट, पूर्व सचिव कार्कीले उचाले उपाधि



काठमाडौं । पूर्व सचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जितेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन् ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३/४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उक्त उपाधि जितेका हुन् । यसैगरी ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बनेका छन् ।

उक्त प्रतियोगिताको महिलातर्फको उपाधि गीता गुरुङले जितेकी छिन् । उनले ३८ सकोर बनाएर विजेता बन्दा रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनेकी छिन् । यस्तै सिनियर पुरुषतर्फको उपाधि पूर्व सेनाप्रमुख जनरल गौरव शमशेर राणाले जितेका छन् भने दिलीपजंग रायमाझी उपविजेता बनेका छन् ।

चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्र कुमार कार्की भएका थिए । यस्तै प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जितेका छन् भने लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेज बहादुर राईले जिते ।

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा ८८ जना खेलाडीको सहभागिता रहेको थियो । विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL