Logo

बैशाखदेखि ट्रायल पास गरेकालाई अस्थायी लाइसेन्स, स्मार्ट लाइसेन्स पाउन भने एक बर्ष कुर्नुपर्ने

बैशाखदेखि ट्रायल पास गरेकालाई अस्थायी लाइसेन्स, स्मार्ट लाइसेन्स पाउन भने एक बर्ष कुर्नुपर्ने



काठमाडौं । यातायात व्यवस्था विभागले आगामी महिनादेखि सवारी चालक अस्थायी अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । विभागले ट्रायल परीक्षा पास गरेकालाई तुरुन्तै अस्थायी अनुमतिपत्र उपलब्ध गराउने तयारी गरेको हो ।

परीक्षा पास गरेपछि योग्य भएकालाई स्थायी रुपमा स्मार्ट लाइसेन्स दिइने भएपनि अहिलेसम्म विभागले महिनौसम्म स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन् । अहिले पनि लाखौं नेपालीहरु स्मार्ट लाइसेन्सको प्रतिक्षामा छन् । यस्तो अवस्थामा तत्कालीन समस्या हल गर्न विभागले अब भने अस्थायी लाइसेन्स वितरण गर्ने विकल्प अगाडि सारेको हो । ।

पछिल्लो समय सेवाग्राहीहरुले लाइसेन्सका लागि ट्रायल दिएको बर्ष दिनसम्म पनि एक रसिदको भरमा सवारीसाधन चलाईरहेको अवस्था छ । सोही अवस्थालाई मध्यनजर गर्दै विभागले अस्थायी लाइसेन्सको अवधारणा ल्याएको जानकारी दिएको छ ।

अहिले रसिदले नै सवारीसाधन चलाउन पाइने नियमले त्यही रसिद फोटोकपी गरी धेरैलाई बाँडेर चलाउने गरेको पाईएपछि अस्थायी लाइसेन्सको अवधारणा आएको विभागका निर्देशक प्रवीण डंगोलले जानकारी दिए । उनका अनुसार स्मार्ट लाइसेन्सका लागि समय लाग्ने भएकाले अस्थायी लाइसेन्स वितरण गर्न लागिएको हो ।

अस्थायी लाइसेन्स पोलिभिनायल क्लोराइड (पिभिसी) कार्डमा प्रिन्ट गरेको अवस्थामा सेवाग्राहीलाई उपलब्ध हुनेछ । जसमा सवारी चालकको परिचय, लाइसेन्स नम्बरजस्ता सामान्य सूचनासँगै क्युआर कोड पनि राखिनेछ । जसमार्फत ट्राफिक प्रहरीले अस्थायी लाइसेन्समा भएको क्युआर कोड रिड गरी लाइसेन्स नक्कली या सक्कली पहिचान गर्नेछन् ।

हाल नेपालभरका करिव ८ लाख बढी सेवाग्राहीले लाइसेन्सका लागि अनलाइन आवेदन भरेका छन् । तर, विभागसँग पर्याप्त स्मार्ट कार्ड नहुँदा ट्रायल पास भएकाले स्मार्ट लाइसेन्स पाउन भने सकिरहेका छैनन । विभागमा स्मार्ट कार्ड नहुँदा हाल विभागले अत्यावश्यकलाई जस्तै विदेश जाने नागरिक, मिलिटरीलगायतलाई मात्रै लाइसेन्स वितरण गरिरहेको छ । तर, नयाँ कार्डका लागि ग्लोबल टेण्डर आह्वान गरिसकेकाले लाइसेन्स वितरणमा ढिलाई नहुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुषाल बताउँछन् । उनका अनुसार अहिले टेण्डर आह्वान गरेर कम्पनी छनोट भएपछि प्रतिस्पर्धी अर्काे कम्पनीले मुद्दा हाल्ने प्रवृत्तिका कारण पनि ढिलाई भएको अवस्था छ । यो विषयलाई पनि मध्यनजर गर्दै अस्थायी लाइसेन्सको अवधारणा ल्याईएको हो ।

हाल नेपालभरका १९ यातायात कार्यालयमार्फत दैनिक ५ हजारले सवारीचालक अनुमतिपत्रका लागि ट्रायल दिने गरेका छन् । तर, ट्रायल पास गरेकाले पनि स्मार्ट लाइसेन्सका लागि ५ महिनादेखि १ बर्षसम्म कुर्नुपर्ने निश्चित छ । हाल अस्थायी लाइसेन्स जारी गर्नै विषयमा विभागले ट्राफिक प्रहरी, यातायात कार्यालयलगायतसँग छलफल गरिरहेको छ ।

अस्थायी कार्ड सम्बन्धित यातायात कार्यालयहरुले नै सामान्य प्रिन्टर राखेर आफै प्रिन्ट गर्न सक्छन् । त्यसो हुँदा सेवाग्राहीले ट्रायल दिएको १ देखि २ दिनमै अस्थायी लाइसेन्स पाउने अवस्था हुनेछ । अहिले यातायात कार्यालयहरुले स्मार्ट लाइसेन्स नआउन्जेलसम्मका लागि भन्दै रसिद दिने गरेकोमा च्यातिने, भिजेर नष्ट हुने डर उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL