काठमाडौं । सरकारले देशभर भीडभाड, सभा सम्मेलन तथा जुलुस रोक्न आग्रह गरेको छ । पछिल्लो समय कोरोना महामारी पुनः बढिरहेको भन्दै देशभरका प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो।
कोरोना महामारीको संक्रमण बढ्न थालेको भन्दै सीडीओलाई जिल्लामा थप कडाइ गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। यस्तै उनले देशभरका अस्पतालहरुलाई समेत तयारी अवस्थामा रहन आग्रह गरिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।