Logo

सामाजिक सुरक्षा कोषद्वारा ५ करोड दाबी भुक्तानी, १ लाख ९४ हजार श्रमिक सूचिकृत

सामाजिक सुरक्षा कोषद्वारा ५ करोड दाबी भुक्तानी, १ लाख ९४ हजार श्रमिक सूचिकृत



काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै ५ करोड रुपैयाँ भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत १ हजार ४ सय ३५ योगदानकर्तालाई ४ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । १ हजार २ सय २६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत २ करोड ५८ लाख ४६ हजार १ सय ५५ रुपैयाँ भुक्तानी भएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई १८ लाख ५० हजार ६ सय २९, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई ३४ लाख २९ हजार ६४ र वृद्धावस्था सुरक्षा योजनाबाट १ सय १७ लाभग्राहीलाई १ करोड ६२ लाख ५५ हजार ७ सय ८१ रुपैयाँ भुक्तानी दिइएको कोषले जनाएको छ ।

यही चैत ११ गतेसम्म कोषमा ४ अर्ब ८० करोड योगदान सङ्कलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ । यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ० दशमलव २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलव ३३ प्रतिशत छ्ुट्ट्याइने छ ।

कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधाभूत परिश्रमिकको २८ दशमलव ३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८ दशमलव ३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।

१ लाख ९४ हजार श्रमिक सूचीकृत

कोषमा हालसम्म १ लाख ९४ हजार श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशबाट १ लाख ४५ हजार ४ सय ५२, प्रदेश नं १ बाट २० हजार ५०, प्रदेश नं २ बाट १३ हजार ७ सय ९५, गण्डकीबाट ७ हजार १ सय ५४, लुम्बिनीबाट ६ हजार ८ सय ३९, सुदूरपश्चिमबाट ७ सय ७५ र कर्णालीबाट ४ सय ७० योगदानकर्ता सूचीकृत भएका छन् ।

कोषमा आवद्ध हुने रोजगारदाताको सङ्ख्या १३ हजार ६ सय १६ पुगेको छ । यसअन्तर्गत वाग्मती प्रदेशका ९ हजार १ सय, प्रदेश नं १ का १ हजार ८ सय ६०, लुम्बिनीका १ हजार १ सय ८०, प्रदेश नं २ का ५ सय ५०, गण्डकीका ६ सय १७, कर्णालीका १ सय ४३ र सुदूरपश्चिमका १ सय ६६ छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL