Logo

तयारी पोशाक निर्यातमा निरन्तर गिरावट : आठ महिनामा साढे ५ अर्बको निर्यात, २० अर्बको आयात

तयारी पोशाक निर्यातमा निरन्तर गिरावट : आठ महिनामा साढे ५ अर्बको निर्यात, २० अर्बको आयात



काठमाडौं । नेपालबाट विभिन्न देशमा निर्यात हुँदै आएको गार्मेन्ट (तयारी पोशाक) को निर्यात निरन्तर खुम्चिदो देखिएको छ । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको तयारी पोशाक नेपालले निर्यात गरेको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो ८ महिनामा मात्रै नेपालले जर्सी, ट्राउजर, वेस्टकोटलगायत तयारी पोशाकहरु ५ अर्ब ६४ करोड १४ लाख ३४ हजार रुपैयाँ बराबरको निर्यात गरेको हो । यस्तै यस अवधिमा नेपालले विभिन्न देशबाट भने २० अर्ब बढीको तयारी पोशाक आयात गरेको छ ।

कुनै समय नेपालले गर्ने निर्यातको ५० प्रतिशत हिस्सा ओगट्ने तयारी पोशाकको निर्यातमा निरन्तर गिरावट आउनुमा सरकारी निकायकै कमजोरी रहेको सम्बद्ध व्यवसायीहरुले बताउँदै आएका छन् ।

गत आवको सोही अवधिमा पनि नेपालले ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्रै गार्मेन्ट निर्यात गरेको थियो । तथ्यांकलाई हेर्दा गत बर्षको तुलनामा गार्मेन्टजन्य वस्तुको निर्यात व्यापारमा १ करोड बढीको गिरावट आएको छ ।

नेपालले जर्सी, बच्चाका कपडा, मेडिकलमा उपयोगी गार्मेन्टका उतपादन विभिन्न देशमा निर्यात गर्दै आईरहेको छ । जसमा सबैभन्दा बढी भुटान, बंगलादेशलगायत देशमा निर्यात हुनेगरेको व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समय सरकारीे नीति नियमकै कारण र बेवास्ताका कारण नेपालका निर्यातजन्य उद्योगहरु अद्योगतिमा लागेको नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डीप्रसाद अर्याल बताउँछन् । केही बर्ष यता निर्यातजन्य ब्यापारमा उच्च गिरावट आएको अर्यालले बताए । नेपाल सरकारले सही निती नियम ल्याउन सके र बिशेष प्राथमिकतामा राखेर अघि बढे नेपाल विश्वमै गार्मेन्टको उत्पादन र निर्यातमा अग्रणी बन्न सकने सम्भावना अझै पनि रहेको छ ।

संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारले नयाँलाई भन्दा पनि पुराना रुग्ण भएका उद्योगलाई समेत बेवास्ता गरेको आरोप लगाए । ‘यदि पुराना गार्मेन्ट उद्योगलाई पुनस्र्थापित गरी चलाएमा पनि नेपालको निर्यात व्यापार बढ्ने थियो,’ उनले भने, ‘तर सरकारले यस्ता कुरामा ध्यान कहिले दिने ?’ उनले सरकारी वेवास्ताकै कारण अर्बौ लगानीका पुराना तयारी पोशाक कम्पनीहरु रुग्ण बनेको बताए । अहिलेको जस्तै नीति रहिरहे हाल संचालित उद्योगहरु पनि रुग्ण हुने अवस्था आउने ढकालले बताए ।

सरकारले हालसम्म निर्यातमा अनुदानसम्बन्धी कार्यविधि लागु गरी निर्यात हुने वस्तुको मूल्य अभिवृद्धि कर ५० प्रतिशत वा सोभन्दा बढी भएमा ५ प्रतिशत र ५० प्रतिशतभन्दा कम भएमा ३ प्रतिशत नगद अनुदान दिँदै आएको छ । तर, सरकारी अनुदान कागजमै सीमित भएको व्यवसायीहरु बताउँछन् ।

नेपालले पछिल्लो ८ महिनामा आयात गरेको तयारी पोशाकबाट राजश्व तथा भन्सार शुल्क मात्रै ६ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ उठाएको छ । नेपालमा हाल १ सय ३ बढी गार्मेन्ट उद्योगहरुले तयारी पोशाक उत्पादन गरी विभिन्न देशमा निर्यात गर्ने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्