Logo

मेलम्चीको पानी धारामा पठाउन सुरु, यस्तो छ पानी आउने तालिका

मेलम्चीको पानी धारामा पठाउन सुरु, यस्तो छ पानी आउने तालिका



काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी धारामा पठाउन सुरु गरेको छ । आइतबार दिउँसो दुई बजेदेखि केयुकेएलले धारामा पानी छोडेको हो ।

महांकालको ट्यांकीमा चढाइएको पानी दुई बजेदेखि धारामा पठाइएको केयुकेएलले जानकारी दिएको छ । केयूकेएलका अनुसार आज मीनभवन, अनामनगर, बाँसबारी, बालाजु र महाराजगञ्जस्थित रिजर्भ ट्यांकीमा पानी चढाएर वितरण गरिने छ ।

नयाँ संरचना तयार भइनसकेको हुँदा पुरानै संरचनाबाट पानी पठाइएको उनले बताए। परीक्षण सफल भएपछि धारामा पानी पठाइएको हो ।

यस्तो छ पानी आउने तालिका :

केयूकेएलले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ । 

यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

त्यस्तै साँझ ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरीको ट्यांकी भरिनेछ भने राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ । 

यस्तै दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

त्यस्तै ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ । यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी आउनेछ । 

त्यसैगरी अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म  चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ ।

मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुर्ई वर्षयता गति लिएको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL