Logo

निर्माण शुरू भएको २ दशकपछि काठमाडौंमा मेलम्चीको पानी, यी स्थानमा हुनेछ वितरण

निर्माण शुरू भएको २ दशकपछि काठमाडौंमा मेलम्चीको पानी, यी स्थानमा हुनेछ वितरण



काठमाडौं । दशकौंको प्रतिक्षापछि अन्ततः आजदेखि काठमाडौंका धारामा मेचम्चीको पानी आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल) को पुरानै प्रणालीबाट मेलम्चीको पानि वितरण शुरु गरिन लागेको जनाएको छ ।

मेलम्चीको पानी सुन्दरीजलमा झारेको २६औ दिन काठमाडौँका धारमा पानी पठाउन शुरु गर्न लागिएको हो । केयुकेएलका अनुसार काठमाडौँको अनामनगर क्षेत्रका नयाँ लाइन जोडिएका १६ सय धारामा पाइलट प्रोजेक्टका रुपमा चौबीसैघण्टा पानी उपलब्ध गराइने भएको छ ।

तीबाहेक अन्य स्थानमा भने चौबीसैघण्टा पानी वितरण गर्न नसकिने केयूकेएलले जनाएको छ । केयूकेएलले काठमाडौंका धारामा पुरानो वितरण प्रणाली भएकाले समस्या नआइ सहजै धारामा पिउन योग्य पानी जाने बताएको छ ।

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

सुरुमा आयोजनाले सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छोड्ने बताएको छ । बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने केयुकेएलले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ ।
उपत्यकाभर १ लाख ८० हजार धारा रहेकोमा अहिले सबैमा एकैपटक नपठाउने तर, विस्तारै बढाउदै लैजाने आयोजनाको तयारी रहेको छ ।

कुन-कुन ठाउँमा आउँदै छ पानी ?

उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने केयुकेएलले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उनले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ, विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।’

पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।

उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उनले भने, ‘त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।’

आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ । कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको उनले बताए । उनले भने, ‘ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुन्छ ।’

मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ । समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको शाक्यले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्यवसायी र आवश्यक सामग्री तयारी गरिएको छ । उनले भने, ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।’

मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुर्ई वर्षयता गति लिएको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL