Logo

राजस्व चुहावट नियन्त्रणमा कठोर बन्दै सरकार, अर्थमन्त्री भन्छन् : नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्छौं

राजस्व चुहावट नियन्त्रणमा कठोर बन्दै सरकार, अर्थमन्त्री भन्छन् : नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्छौं



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । बिहीबार केन्द्रिय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा उनले राजस्व चुहावटप्रति सहिष्णु हुन नसकिने बताउँदै शक्तिका साथ प्रस्तुत हुने जानकारी दिए । यस्तै उनले राजस्व चुवाहट नियन्त्रणसँगै व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिने बताए ।

अर्थमन्त्री पौडेलले निर्दोष नपरुन र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजकता अपनाउन विभागहरु र सुरक्षा निकायलाई आग्रह गरेका छन्।

उनले चुहावट नियन्त्रणका लागि समन्वय गरी काम गर्न विभागहरु र सुरक्षा निकायहरुलाई निर्देशन दिए । स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउन भन्दै अर्थमन्त्री पौडेलले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले प्रणालीमा रहेका कमजोरीहरुलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताए।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक भएको धारणा व्यक्त गरेका छन् ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको बताउनुभयो । उहाँले आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सजग रहेको बताए ।

गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुन अनुसार कारवाही गर्ने जानकारी दिए ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नियमित रुपमा छलफल गरि अघि बढ्ने बताएका छन् ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले निमयित रुपमा अनुमगन गर्नु पर्ने उल्लेख गरे । यस्तै कार्यक्रममा अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न निकायबाट प्रयास भइरहेको भन्दै चुहावटमा संलग्नहरुलाई कारवाही भइरहेको बताए।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरुलाई प्रभावकारी बनाइने बताएका ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL