Logo

इन्टरनेट सेवाप्रदायकका ग्राहक लोभ्याउने अफर : ७ सयमा २० एमबीपीएसदेखि फाइभ जी राउटरसम्म

इन्टरनेट सेवाप्रदायकका ग्राहक लोभ्याउने अफर : ७ सयमा २० एमबीपीएसदेखि फाइभ जी राउटरसम्म



काठमाडौं । पछिल्लो समय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबीच चर्को प्रतिस्पर्धा छ । सेवाप्रदायकहरुले विभिन्न अफरहरुसहित सेवाग्राहीलाई आफ्नो पक्षमा तान्न होडबाजी चल्ने गरेको छ । इन्टरनेट सेवा प्रदायकहरुबीचको चर्को प्रतिस्पर्धाले भने आम उपभोक्तालाई फाइदा पुगेको छ । बढ्दो बजारमा सेवाग्राहीहरुलाई रोजेर सेवा लिने अवसर छ ।

नेपाल दूरसंचार प्राधिकरणबाट हालसम्म १ सय ३० ओटा कम्पनीले इन्टरनेट सेवा प्रदान गर्ने अनुमति लिएका छन् । त्यसमध्ये हालसम्म १० ओटा कम्पनी मात्रै सक्रिय रुपमा सेवा दिइरहेका छन् भने अन्य गुमनामजस्तै छन् ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार पुषसम्म नेपालमा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड ४७ लाख ३५ हजार बढी पुगेको छ । त्यसमध्ये इन्टरनेट सेवाप्रदायकले प्रदान गरेको सेवा चलाउनेको संख्या मात्रै ५३ लाख ४७ हजार छ । तर, यो संख्या पछिल्लो समय बढ्दो छ । जसको श्रेय सेवाप्रदायकले ग्राहक तान्न गरेका विभिन्न अफरहरुलाई पनि दिन सकिन्छ । आज हामीले प्रमुख इन्टरनेट सेवा प्रदायकहरुले अहिले बजारमा प्रस्तुत गरेका अफरहरुबारे चर्चा गरेका छौं ।

टेलिकमको एफटीटीएचमा सस्तो अफर

नेपाल टेलिकमले पछिल्लो समय आफ्नो फाईबर टु दि होम ९एफटीटीएच० सेवालाई तीव्र रुपमा अघि बढाईरहेको छ । जसमा कम्पनीले आफ्ना ग्राहकहरुका लागि एउटै केवलमार्फत भ्वाईस, भिडियो र इन्टरनेट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले हाल उक्त सेवामार्फत टिभी बाहेक, टिभीसहितका प्याकेजहरु ल्याएको छ । जसमा १५ एमबीपीएस इन्टरनेट, टिभी र निशुल्क टेलिफोन गरी एक प्याकेजको मूल्य प्रतिमहिना १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।

यस्तै उक्त प्याकेज ३ महिनाको लागि खरिद गरे यसको मूल्य ३ हजार ५ सय ३० रुपैयाँ पर्न आउँछ । यस्तै कम्पनीको उक्त प्याकेज १ बर्षकै लागि खरिद गरेको खण्डमा भने १३ हजार २ सय २० रुपैयाँ पर्न आउँछ । तर यही सेवा इन्टरनेटका लागि मात्रै लिएको खण्डमा प्रतिमहिना १० एमबीपीएसको ९ सय, २० को १२ सय र ५० एमबीपीएसको १८ सय रुपैयाँ पर्न आउने कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीले राउटर र १ सय मिटर फाईवर निशुल्क जडान गरिदिने गरेको छ ।

क्लासिक टेकको धमाकेदार अफर

क्लासिक टेकले आफ्ना ग्राहक रिझाउन धमाकेदार नाम दिएको अफर सार्वजनिक गरेको छ । जसमार्फत कम्पनीले प्रतिमहिना ७ सय ५० रुपैयाँ तिरेर २० एमबीपीएस ब्याण्डविथको इन्टरनेट दिने गरेको छ । उक्त प्याकेज अन्तर्गत इन्टरनेट जडान गर्दा कम्पनीले निशुल्क राउटरदेखि जडान पनि गर्ने बताएको छ । यस्तै कम्पनीले टिभीका लागि निशुल्क सेटअफ बक्ससमेत उपलब्ध गराउने बताएको छ ।

कम्पनीले हाल ३०, ४० र ६० एमबीपीएसका प्याकेजहरु प्रदान गरिरहेको छ । जसमा ३० एमबीपीएसको मूल्य प्रतिमहिना १ हजार २ सय ५०, ४० एमबीपीएसको प्रतिमहिना १ हजार ४ सय ५८ रुपैयाँ र ६० एमबीपीएसको प्रतिमहिना १ हजार ८ सय ३३ रुपैयाँ तोकिएको छ । उक्त प्याकेजमार्फत इन्टरनेट जडान गरेमा कम्पनीले प्रभु टिभी, र सेटअप बक्स निशुल्क प्रदान गर्ने बताएको छ ।

वर्ल्डलिंकको ६० एमबीपीएस १८३३ मा

नेपालकै प्रमुख इन्टरनेट सेवाप्रदायकका रुपमा रहेको वल्र्डलिंकले विशेष अफर भने सार्वजनिक गरेको छैन । तर कम्पनीले ३० देखि ६० एमबीपीएस क्षमताको इन्टरनेट सुविधा आफ्ना ग्राहकलाई दिँदै आएको छ । कम्पनीले उक्त प्याकेजहरुको मूल्य क्रमशः १ हजार २ सय ५०, १ हजार ४ सय ५८ र १ हजार ८ सय ३३ रुपैयाँका प्याकेजहरु दिँदै आएको छ । जसमा ३०, ४० र ६० एमबीपीएस रहेका छन् । तर कम्पनीले इन्टरनेट जडान गरिदिने बेलामा नेट टिभी स्ट्यान्डर्ड निशुल्क र प्राईम प्याकेज प्रतिमहिना थप १ सय रुपैयाँमा दिने गरेको छ ।

सुविसुको फाईभ जी अफर

सुविसुले आफ्ना ग्राहकहरुका लागि फाईभ जी अफरअन्तर्गत ३५ एमबीपीएस इन्टरनेट प्रतिमहिना १ हजार १ सय ५० रुपैयाँमै उपलब्ध गराउने गरी अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ग्राहकहरुले ५जी डुअल राउटर पनि पाउनेछन् । जसमा क्लियर टिभीसमेत समाबेस गरिएको हुने बताईएको छ ।

यस्तै कम्पनीले अन्य प्याकेज अन्तर्गत बार्षिक १३ हजार २ सय रुपैयाँमा २० एमबीपीएस इन्टरनेट जडान गरिदिने सेवा रहेको छ । उक्त प्याकेज अन्तर्गत ग्राहकले मासिक तिर्न चाहेमा प्रतिमहिना १ हजार ४ सय र प्रति ३ महिनाको जडान गरे ४ हजार ५० रुपैयाँ पर्दछ । तर, ग्राहकले पहिलोपटक जडान गरेको खण्डमा सबै सुविधासहित पहिलो महिना ४ हजार ४ सय ९७ रुपैयाँ, ३ महिनाको प्याकेज लिएर ६ हजार ७ सय ५ र एक बर्षको प्याकेज अन्तर्गत १४ हजार ९ सय ७० रुपैयाँ पर्न आउँछ । जसमा एक्टिभेसन चार्ज, फाईबर चार्ज र जडान चार्ज जोडिन्छ ।

यस्तै ३५ एमबीपीएस भने १ महिनाको प्याकेजको लागि ४ हजार ५ सय ४७, ३ महिनेका लागि ६ हजार ८ सय ५५ र १ बर्षका लागि १५ हजार ५ सय ७० रुपैयाँ पर्न आउँछ । तर कम्पनीको ४५ एमबीपीएस इन्टरनेट जडान गरेमा भने पहिलो महिना ४ हजार ७ सय ४७, ती महिनाको ७ हजार १ सय ५५ र बार्षिक प्याकेजका लागि १६ हजार ७ सय ७५ रुपैयाँ पर्दछ ।

भायानेटको भयंकर अफर

भायानेटले ग्राहकलाई आकर्षित गर्न प्रतिमहिना ८ सय रुपैयाँ तिरेर २० एमबीपीएस सेवा लिन पाउने गरी भयंकर आफर सार्वजनिक गरेको छ । जसमा ग्राहकले १ बर्षको सदस्यता लिँदा २० एमबीपीएस इन्टरनेट सहित भाया टिभी पनि पाउने बताईएको छ । यस्तै कम्पनीले अन्य प्याकेज अन्तर्गत भने ३०, ४० र ६० एमबीपीएसका प्याकेजहरु क्रमशः प्रतिमहिना १२ सय, १४ सय र १७ सय ५० रुपैयाँमा प्रदान गर्दै आईरहेको छ ।

नयाँ ग्राहकहरुका लागि उक्त मूल्यमा ५० रुपैयाँ थप हुने कम्पनीले जानकारी दिएको छ । उक्त प्याकेजहरुमा कम्पनीले क्रमशः १, २ र ३ ओटा टेलिभिजन चलाउने मिल्ने सेवा दिईरहेको बताएको छ । यस्तै कम्पनीले प्रत्येक प्याकेजमा १ रुपैयाँमै टिभीका लागि सेटअप बक्स पनि प्रदान गर्ने बताएको छ ।

प्रभुको इन्टरनेट र टिभी प्याकेज

प्रभु डिजिटलका यस्ता छन् प्याकेजहरु पछिल्लो समय इन्टरनेट विस्तारमा आक्रामक रुपमा लागेको प्रभु डिजिटलले पनि आफ्ना ग्राहकहरुलाई लोभ्याउन विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ । जसमा ३०, ५० र ६० एमबीपीएसका प्याकेजहरु रहेका छन् ।
उक्त प्याकेजहरुको मूल्य कम्पनीले प्रतिमहिना क्रमशः १ हजार ४ सय १ हजार ८ सय र २ हजार १ सय ५० रुपैयाँ तोकेको छ । उक्त प्याकेजहरु राख्नुपर्ने ग्राहकहरुले २ सय भन्दा बढी च्यानल उपलब्ध भएको प्रभु टिभी सित्तैमा पाउने बताईएको छ । यस्तै कम्पनीका अनुसार उक्त प्याकेजहरु जडान गर्नका लागि एक्स्ट्रा चार्ज पनि तिर्नुपर्ने छैन । तर एडभान्स प्रविधिको राउट र पनि पाउनेछन् ।

डिसहोमको फाईबर नेट

प्रभु डिजिटल जस्तै टेलिभिजन सेवा दिईरहेको डिस होमले पनि फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको छ । कम्पनीले हाल २५ र ४० एमबीपीएस क्षमताका प्याकेजहरु विभिन्न मूल्यअनुसार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार २५ एमबीपीएसको प्याकेज लिने ग्राहकले प्रतिमहिना ११ सय, प्रति ३ महिना ३ हजार, प्रति ६ महिनाको प्याकेजमा ५ हजार ५ सय र प्रति बर्षको प्याकेजमा १० हजार रुपैयाँ तिरे पुग्छ ।

यस्तै ४० एमबीपीएसको प्याकेजको मूल्य भने प्रति महिना १५ सय, प्रति ३ महिनाको प्याकेज ४२ सय, प्रति ६ महिनाको प्याकेज ७८ सय र एक बर्षको प्याकेज खरिदमा १४ हजार ५ सय रुपैयाँ तिरे पुग्छ । नयाँ ग्राहकहरुका लागि उक्त प्याकेज अनुसारको इन्टरनेट जडान गरेको खण्डमा जडान खर्च निशुल्क हुनेछ भने अन्य सुविधाको निश्चित भाडा लाग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्