Logo

अब सार्वजनिक स्थानमा मास्क अनिवार्य, घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही

अब सार्वजनिक स्थानमा मास्क अनिवार्य, घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही



काठमाडौं । काठमाडौँ उपत्‍यकामा सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन र घरभित्रै होली मनाउन प्रशासनले आग्रह गरेको हो ।

भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै प्रशासन कार्यालयहरुले मास्क लगाउन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले भारतमा बढ्दै गएको कोरोना संक्रमणको प्रभावस्वरुप काठमाडौँ उपत्यकामा समेत बढ्‍दै गएकाले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क प्रयोग, स्यानिटाइजर र सामाजिकरभौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न सूचना निकालेर आग्रह गरेको छ ।

त्यस्तै सार्वजनिक स्थलमा भिडभाड नगर्न र घरभित्रै होली मनाउन प्रशासनले आग्रह गरेको छ । जिल्ला कोभिड( १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्नेलगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय गरेको छ ।

घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत भएको जानकारी दिए । यस्तै ललितपुरमा रात्रीकालीन व्यवसाय राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने, व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नुपर्ने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ । होलीमा पनि भिडभाड नगर्न प्रशासनले भनेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि भिडभाड नहुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न आग्रह गरेको छ । यस्तै पहिले सञ्‍चालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्‍न पनि प्रशासनले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्