Logo

नेपालबाट हड्डी पनि हुन्छ निर्यात : बंगलादेशमा सबैभन्दा बढी, भारत दोश्रो स्थानमा

नेपालबाट हड्डी पनि हुन्छ निर्यात : बंगलादेशमा सबैभन्दा बढी, भारत दोश्रो स्थानमा



काठमाडौं । पछिल्लो समय नेपालमै रासायनिक मल उत्पादन गर्ने बहस राम्रै चलेको छ । नेपाली कच्चापदार्थको प्रयोग गरी बनाउने स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको छ ।

रासायनिक मल उत्पादनका लागि आवश्यक कच्चापदार्थ भनिएको हड्डीजन्य पदार्थ भने नेपालबाट बर्षेनी करोडौँ रुपैयाँ बराबरको निर्यात गर्ने गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पछिल्लो ८ महिनाको तथ्यांकअनुसार नेपालबाट ४ करोड १२ लाख ४८ हजार रुपैयाँ बराबरको हड्डीजन्य पदार्थ विभिन्न देशमा निकासी भएको छ । जसमा हड्डीको ओसेन, हड्डी तथा सिङहरु, कछुवाको खपटा, ह्वेलको हड्डीलगायत निर्यात हुने गरेको छ ।

नेपालले यस्ता वस्तुहरु खासगरी बधशाला, मासुपसललगायतका स्थानबाट संकलन गर्ने गरिन्छ । विभागका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म बंगलादेशमा मात्रै ८ लाख ४० हजार किलो हड्डीजन्य पदार्थ निर्यात गरेको छ । यस्तै भारतमा पनि नेपालले यस अवधिमा १ लाख २४ हजार ५ सय २० किलो हड्डीजन्य पदार्थ निर्यात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्ता देशहरुले नेपालबाट हड्डीजन्य पदार्थ आयात गरी बटन, प्लेट, चराचुरुंगीको दाना, खानेतेललगायत उत्पादन गर्न प्रयोग गर्ने गरेका छन् । यस्तै कतिपय देशमा भने नेपालबाट निर्यात हुने हड्डीमा एसिडको सहयोगले हड्डीभित्रको ओसेन छुट्याएर मेडिकल प्रयोगका लागि पनि उपयोग गर्ने गरिएको छ । यसरी छुट्ट्याईएको ओसेनलाई पाउडर बनाई हड्डी भाँचिएको स्थानमा प्रयोग गर्न सकिन्छ ।

नेपालले पनि यस अवधिमा विभिन्न देशबाट कछुवाको खपटा र विभिन्न सेलहरु मात्रै १ करोड १२ लाख ६९ हजार रुपैयाँ बराबरको १ लाख ४७ हजार १६ किलो आयात गरेको छ ।

नेपालमा भने यस्ता वस्तुहरु पाकिस्तान र भारतबाट आयात गरी गरगहना बनाउन प्रयोग गर्ने गरिन्छ । यस्तै कछुवाका खपटाबाट गरगहनामात्रै नभई चस्माको फ्रेम, काईँयोलगायत वस्तुहरु बनाइन्छ ।

यता व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का अनुसार भने पछिल्लो ५ बर्षमा नेपालले २५ करोड रुपैयाँ बढीको हड्डीजन्य पदार्थ आयात गर्दा १२ करोड बढीको निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्