काठमाडौं । करीब एक वर्षदेखि बन्द नेपाल र भारतबीचको यातायात खुला गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लेसिफारिस गरेको छ ।
सिसिएमसीको बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ ।
नेपाल भारत यातायातका १३ वटा रुट बाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।
यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ ।
त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।
यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवतजावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीएमसीका सचिव बरालले बताए ।